पर्साको अमरपट्टी नाकाबाट संगठित तस्करी : प्रहरी अधिकारीहरुकै संलग्नता रहेको आरोप



वीरगंज । पर्सा जिल्लाको अमरपट्टी सिमानाबाट हड्डी स्क्रैप, कपडा, चल्ला र अन्य सामग्रीको संगठित तस्करी भइरहेको खुलासा भएको छ। स्थानीय स्रोतका अनुसार यस क्षेत्रबाट पहिले कहिल्यै नदेखिएको स्तरमा अहिले तस्करी धुवाँधार भइरहेको छ। चिन्ताजनक पक्ष भनेको तस्करीलाई रोक्नुपर्ने जिम्मेवारी भएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही अधिकारीहरू नै यो गैरकानुनी कामलाई सहयोग गरिरहेको आरोप लगाइएको छ।

पर्साको अमरपट्टी नाकाबाट भारततर्फ ठूलो मात्रामा हड्डी स्क्रैप (Bone Scrap) तस्करी भइरहेको खुलासा भएको छ। यो अवैध व्यापारमा चर्चित तस्कर भारतीय नागरिक संजय चौरसियाको संलग्नता पाइएको छ। सूचनाका अनुसार, संजय चौरसियाले अमरपट्टी नाकाबाट हड्डी स्क्रैप तस्करी गरिरहेका छन्। वीरगंजको जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिएको हड्डी स्क्रैप ट्रक र पिकअपमा लोड गरी अमरपट्टी सीमाक्षेत्रमा पुर्‍याइन्छ। त्यहाँबाट दर्जनौं भरियाहरूले साइकलको प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन्। नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हड्डी स्क्रैप भारतमा प्रति केजी ५० रुपैयाँमा बेच्ने गरिएको छ। यस तस्करीबाट तस्करहरूले ठूलो आर्थिक फाइदा उठाइरहेका छन्।

यस्तै, अमरपट्टी नाकाबाट कुखुराको चल्ला तस्करीको काम सन्दिप, धर्मेन्द्र, धनन्जय र स्वरुपले गरिरहेका छन । उनिहरुले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ। उनिहरुको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ। अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्। यस्तै,अमरपट्टी नाकाबाट स्वरुपले कपडाको पनि तस्करी गरिरहेका छन भने जलाउदिनले कबाडको तस्करी गरिरहेको छ ।

त्यस्तै, पर्साको बिन्दबासिनी गाउँपालिका घर भएका उत्तम तिवारी, संजय र राहुल चतुर्वेदी नामक चर्चित तस्कर समूहहरूले अमरपट्टी नाकाबाट कपडा, पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी गरिरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताएका छन। अमरपट्टी नाकाबाट मध्यरातीको समयमा कपडा, पपकन बनाउने मकै र चाइनिज लसुनको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन । अमरपट्टीस्थित रहेको प्रहरी चौकी अगाडी रहेको बाँसबारीको बाटो हुँदै मध्यरातीमा १५/२० जना भरिया परिचालन गरी साईकल र मोटोरसाइकलमार्फत कपडा, पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी भइरहेको प्रहरी स्रोतले समेत बताएको छ ।

त्यस्तै, प्रसौनीभाठा नाकाबाट लखनपुर निवासी रमेश सहित ५ जनाको समुहले भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध,काजु र चकलेट तस्करीको लाईन पाएका छन । अर्का गर्दौल निवासी शहनी थरका तस्करले पनि भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध, काजु र चकलेट तस्करीको लाईन पाएका छन । यस्तै, प्रसौनीभाठा नाकाबाट तस्कर अजयले किराना समान, जितेन्द्र कपडा, प्रकाशले किराना समान, रबिन्द्र गुप्ता किराना सरफदेव ग्रुप कपडा, अबदुल खसिबाख्रा, रबिन्द्र साह किराना समान, हरिनारायण किराना, भारतका मुसहरवाका बिनय साह जुत्ताचप्पल, सुर्तीजन्य समान, राजनिवास, हार्डवेयर, मिठा, प्रकाश साह किराना, सुनिल किराना, रामशंकर किराना, अजय किराना, मनोज किराना, इन्द्रजित कष्टमेटिक, अनिल कष्टमेटिक समानको तस्करी गरिरहेका छन । यस्तै, धोरे नाकाबाट कपडा,चकलेट, किराना समान र जुत्ताचप्पलको तस्करी भइरहेको छ ।

स्थानीय स्रोतका अनुसार, यस अवैध गतिविधिमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका डिएसपी सुशील बस्नेत, अमरपटी बिओपीका इन्स्पेक्टर रबिन ढुङ्गेल, बिओपि प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम हरि रिमाल,प्रहरी चौकी अमरपटीका वरिष्ठ सई मदन बहादुर मल्ल र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सइ बाबुराम ढकालको संलग्नता रहेको स्रोतको दाबी छ। उनीहरूले आर्थिक लाभ उठाउँदै तस्करीमा सहयोग पुर्याइरहेको स्थानीय स्रोतले जनाएको छ।

यस विषयमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका डिएसपी सुशील बस्नेतसँग संजय चौरसिया, उत्तम र स्वरूपको तस्करी चलिरहेको विषयमा बुझ्दा उनले भने, “त्यो खबर मैले पनि सुनेको छु। हाम्रो टोली दिनरात खटिरहेको छ। पेट्रोलिङ, गस्ती र मोबाइल टोली पनि परिचालित हुन्छ। फेला परेका सामग्रीहरू हामीले अघिल्लो पटक बरामद गरेर सार्वजनिक पनि गरेका छौं। हामीलाई अहिलेको समयमा तस्करी भइरहेको छ भन्ने ठोस र सटीक सूचना प्राप्त भएमा तत्काल कारबाही गर्न अझ सहज हुनेछ। तपाईहरूको सहकार्य र साथ रह्यो भने हामी १०० प्रतिशत सफल परिणाम दिन सक्छौं।”     डिएसपी बस्नेत बताए ।

स्थानीय बासिन्दाहरूले यो विषयमा तत्काल छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन्। तस्करीका कारण देशको राजस्वमा क्षति पुगेको मात्र नभई सीमाक्षेत्रको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको छ। सरकारले यस विषयलाई गम्भीरताका साथ लिएर आवश्यक कदम चाल्नु जरुरी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज