“पर्सामा तस्करी नियन्त्रणका लागि डिआईजी ध्वजीको गोप्य छड्के अनुगमन, अवैध कारोबारी भागाभाग”



वीरगंज। पर्सा जिल्लामा विगत केही समयदेखि तस्करीका गतिविधि तीव्र रूपमा बढेको विषयमा गम्भीर चासो देखाउँदै सशस्त्र प्रहरी बल मधेस प्रदेश छिनमस्ता बाहिनी, बर्दिबासका बाहिनीपति डिआईजी कालीदास ध्वजीले सीमाक्षेत्रमा गोप्य रूपमा छड्के अनुगमन थालेका छन्।

डिआईजी ध्वजीले आफ्नो टोलीसहित दुई दिनदेखि पर्सा जिल्लाका विभिन्न सीमाक्षेत्रमा निरीक्षण गरिरहेका छन्। स्थानीय स्रोतका अनुसार, उनले सीमामा भइरहेको अवैध कारोबार, तस्करी र आपराधिक गतिविधिहरूको अध्ययन गर्दै आवश्यक रणनीति बनाउन अनुगमन थालेका हुन्।

डिआईजी ध्वजीको गोप्य छड्के अनुगमनपछि सीमाक्षेत्रका अवैध कारोबारीहरू भागाभागमा परेका छन् भने सशस्त्र प्रहरीका केही अधिकारीमाथि पनि तस्करीमा संलग्न भएको आरोप उठेको छ। यस घटनाले सशस्त्र प्रहरीको छवि प्रभावित भएको बेला डिआईजी ध्वजीको यो कदमलाई सुधारात्मक प्रयासका रूपमा हेरिएको छ।

स्थानीयवासीहरूले डिआईजी ध्वजीको यो कदमलाई सकारात्मक रूपमा लिँदै यसले तस्करी नियन्त्रणमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। तस्करीका गतिविधिहरू रोक्न र सीमाक्षेत्रमा शान्ति तथा कानुनी शासनको प्रत्याभूति गराउन उनले चालेको यो प्रयास निर्णायक हुनसक्ने स्थानीयको धारणा छ।

सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा थप सक्रियता देखाउनुपर्ने माग बढिरहेका बेला डिआईजी ध्वजीको यो अनुगमन अभियानले सीमाक्षेत्रमा हुने आपराधिक गतिविधिमा कमी ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज