
वीरगंज – २४, माघ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको कृपाले विवादास्पद र बदनाम छविका अविन्दर दासलाई यातायात व्यवस्था कार्यालय, कलैया, बाराका प्रमुखको जिम्मेवारी दिइएपछि त्यहाँ अवैध रूपमा लाइसेन्स खरिद-बिक्री सुरु भएको खुलासा भएको छ।
स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय, कलैया, बारामा ठुलो रकम असुली गर्दै ट्रायल र लिखित परीक्षामा फेल भएका अनुभवहीन तथा अयोग्य चालकहरूलाई समेत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गिरोह सक्रिय छ।
मुख्यमन्त्री सतिश सिंहको प्रत्यक्ष समर्थन र कृपाले दासलाई यातायात व्यवस्था कार्यालय, कलैया, बाराको प्रमुखमा सरुवा गरिएको उनका निकट व्यक्तिहरू बताउँछन्। दास माघ ९ गते बुधबार कार्यालयमा हाजिर भएका थिए।
उनले कार्यालयमा आएपछि सेटिङ मिलाउन केही कर्मचारी तथा बिचौलियालाई परिचालन गरेर खुल्लमखुल्ला लाइसेन्स बिक्री गर्ने काम गरिरहेको स्रोतहरू बताउँछन्। यस कारण यातायात व्यवस्था कार्यालय, कलैया, बारा, अवैध लाइसेन्स कारोबारको केन्द्र बनेको छ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियू क्रान्तिकारीले यातायात व्यवस्था कार्यालय कलैया बारामा व्यापक रुपमा भ्रष्टाचार बढेको भन्दै रोक्नका लागि बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईलाई जिल्ला अध्यक्ष संदिप यादवको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । पारदर्शी सेवा प्रवाहको सुनिश्चितता, भ्रष्टाचारमा संलग्न कर्मचारी माथि कारबाही, सेवाग्राहीहरूलाई आवश्यक सेवा समयमै प्रदान गर्न प्रभावकारी प्रणाली लागू गर्न पनि माग गरिएको अध्यक्ष यादवले बताए । ज्ञापन पत्रमा उल्लेख गरिएका मागको सम्बोधन नभएमा आन्दोलनमा उत्रिन बाध्य हुने पनि अध्यक्ष यादवले चेतावनी दिएका छन् ।
स्रोतका अनुसार १७ माघदेखि २४ गतेसम्म विभिन्न मितीमा भएको नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराउन ठुलो आर्थिक चलखेल भएको छ ।
यस्तै, अगामी २७ माघदेखि फाल्गुन १ गतेसम्म विभिन्न मितिमा हुने नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराइदिनका लागि बिचौलियाहरूले अहिले देखि नै रकम असुल गर्न थालेका स्रोतको दाबी छ।
स्कुटर, मोटरसाईकल, ईरिक्सा, जिपकार, ट्याक्टर, मझौला सवारी र हेभी (ट्रक, बस), मेशिनरि समेतको घुसको दररेट फरक फरक तय गरिएको छ । लाइसेन्सको दररेट १० देखि ६० हजारसम्म तय गरिएको छ ।
लाइसेन्स वितरणमा भएको चरम अनियमितताका विषयमा प्रतिक्रिया माग्दा कार्यालय प्रमुख अविन्दर दासले भने, “सोमबारदेखि शुक्रबारसम्म बिदामा छु। ती सबै आरोपहरू गलत छन्। पहिलाको अवस्था बारे मलाई थाहा छैन। पहिले हप्ता–हप्ता लिखित र ट्रायल परीक्षा हुँदा जम्मा २००–२५० जना मात्र सेवाग्राही हुन्थे, जसका लागि २–३ दिनसम्म लाइन बस्नुपर्थ्यो।
तर, मैले कार्यभार सम्हालेदेखि प्रत्येक दिन लिखित र ट्रायल परीक्षा भइरहेको छ। अहिले ३० देखि ५० जनासम्म मात्र सेवाग्राही हुन्छन्, र हामीसँग पर्याप्त कर्मचारी छन्। मैले कार्यभार सम्हालेयता कुनै पनि सेवाग्राहीले मलाई घुस मागिएको वा अन्य अनियमितताको गुनासो गरेको छैन। मालपोत र यातायात कार्यालय पहिले नै बदनाम छन्, तर म आएको मात्र १०–१२ दिन भएको छ। मेरो कार्यकालमा खासै धेरै लिखित र ट्रायल परीक्षा भएका छैनन्।
मैले कार्यक्रमलाई परिवर्तन गरी सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने योजनामा काम गरिरहेको छु। यसका लागि १–२ महिना पर्खिनुपर्ने हुन्थ्यो। कसरी सुधार भइरहेको छ भन्ने बुझ्न मलाई भेट्न आउनु पर्थ्यो। यदि समस्या थियो भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले १–१.५ वर्षअघि किन कुनै ज्ञापनपत्र बुझाइएन? अब कार्यालयलाई बदनाम गराउने तत्वहरू सुनियोजित रूपमा लागेको देखिन्छ। मैले ज्ञापनपत्रबारे मिडियामार्फत मात्रै थाहा पाएँ, अहिलेसम्म कार्यालयमा कुनै आधिकारिक पत्र आएको छैन।”
दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन्। उनी यसअघि नै यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा र गौर, रौतहटमा बसेर अकूत पैसा कमाएका विवादास्पद हाकिम हुन्। अहिले उनी यातायात व्यवस्था कार्यालय कलैया, बारामा पुगेका छन्। उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ। यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेको स्रोतको दाबी छ।
रौतहटमा सेटिङमार्फत असुलीको आरोप
यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्।
यातायात व्यवस्था कार्यालय गौर, रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।
विशेषबाट मुद्दा जितेपछि खुलेआम घुस असुली
यातायात व्यवस्था कार्यालय वीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम हुन अविन्दर दास।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते यातायात व्यवस्था कार्यालय बीरगञ्जका तत्कालीन नायब सुब्बा अविन्दर दास सहित ५ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
आयोगले शाखा अधिकृतहरु कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालीन नायब सुब्बा अविन्द दासबिरुद्ध मुद्दा दायर गरेको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बीरगञ्जले सवारीचालक अनुमतिपत्र कानून विपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेख समेतको सरकारी कागजात नष्ट गरेकोले गौतम र तत्कालीन नायब सुब्बा अविन्दर दाससहित पाँचैजनाबिरुद्ध बशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । तर तिनै तत्कालीन नायब सुब्बा अविन्दर दास विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका थिए । अहिले उनि कलैया यातायात प्रमुखमा सरुवा भएका छन् । र, कलैयामा सरुवा भएपछि उनले बिचौलिया र सेटिङमा परिचालन गरेका कर्मचारीमार्फत् घुसको दररेट तोकेर लाइसेन्स दिने गरेको आरोप छ ।
सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम एकीन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमतिपत्र जारी गर्ने कार्यमा प्रमुख नेपाल र अविन्दर दास सहित पाँचै जनाको संलग्नता देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको थियो ।
शाखा अधिकृतद्वय कमलराज गौतम, शालीग्राम पौडेलत र त्कालीन नायब सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसूर गरेकोेले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो । विशेष अदालतमा बिचौलियामार्फत् सेटिङ गरी मुद्दा जितेका थिए दास । दास अहिल कलैया यातायात कार्यालय प्रमुखमा सरुवा भएका छन् । भारतीय नक्कली लाइसेन्स बाहकसँग २० हजारका दरले घुस लिंदै नेपालीकरण गरिदिएको प्रमाण अख्तियारले पेश गर्दा पनि दाससहित उनीहरुले विशेषबाट सफाइ पाएका थिए । राजनीतिक पहुँचका आधारमा गौतम कलैयाव यातायातको प्रमुखमा सरुवा भएका हुन् । मुद्दा जितेपछि दासले खुलेआम लाइसेन्स बिक्री गर्ने गरेको आरोप छ ।
सत्यनारायण साहको संलग्नता
प्रमुख दाससँगै हाजिर भएका अर्का कर्मचारी सत्यनारायण साह अबैध असुलीमा माहिर खेलाडी हुन्। सत्यनारायण साह हाजिर भएपछि दलाल र सेवाग्राहीसँग पैसा उठाउन कार्यालयमा हालीमुहाली चल्ने भएपछि अन्य अधिकृतहरू किनारा लागेका छन्। साह वीरगंज यातायातमा अबैध असुली गरेका बदनाम र घुस्याहा कर्मचारी हुन्। उनले वीरगंजबाट बारा गएर मोटो रकम असुल गरि फेरि पर्सामा काज गराए, तर उनको यसपटक पर्सामा कुनै चारा नचलेपछि एक महिनामै पुनः बारामा गएका छन्।
यातायात व्यवस्था कार्यालय गौर रौतहटमा निमित्त हाकिम बनेर गएका दास पछि प्रदेशको बढुमा परेर हाकिम बने, तर मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दासको त्यहाँ सरुवा गरे। स्रोतका अनुसार सरुवा हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, अर्थात् मुख्यमन्त्रीलाई मोटो रकम बुझाएर थमौती गराएको थियो। तर आर्थिक चलखेल गरि थमौती गराएको कुरा यातायात मन्त्रीसम्म पुगेपछि दासलाई मन्त्रालयले तानेको थियो। त्यसपछि दासले मुद्दा गरेर मुद्दा जितेपछि उनलाई बारा यातायात प्रमुखमा सरुवा गरियो, तर बारा यातायात प्रमुखमा सरुवा गरिएको विषयमा यातायात मन्त्री कौशल किशोर रायलाई थाहा भएपछि उनलाई बाटोबाट नै मन्त्रालय फर्काएका थिए। त्यसपछि यातायात मन्त्री रायलाई मुख्यमन्त्री सिंहले दबाब दिएर, भनसुन गरेर कन्भिन्स गरि मिलाएर फेरि दासलाई बाराका लागि रवाना गरेका थिए।
मुख्यमन्त्री सिंहको ‘ग्रीन सिग्नल’ पछि दास यातायात कार्यालयमा सरुवा भएका छन्। प्रदेशभित्रका कर्मचारीको सरुवा र थमौती मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने गरेको छ। यातायातका कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री कार्यालयले श्रम तथा यातायात मन्त्रालयसँग समन्वय नगरी सरुवा गरेको मन्त्रालय स्रोतबात प्राप्त भएको छ । यातायात मन्त्री राय दाससँग असन्तुष्ट छन्। रायले दासलाई कुनै जिम्मेवारी नदिने थिए, तर मुख्यमन्त्री सिंहको दबाबमा प्रमुखको जिम्मेवारी दिइएको छ।