
वीरगंज । पर्साबाट सरुवा भएका आधा दर्जन वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सइ) र प्रहरी नायब निरीक्षक (सइ) अहिलेसम्म रमाना भएका छैनन्। गत मंसिरमा नै विभिन्न जिल्लामा सरुवा भएका उनीहरू अहिलेसम्म रमाना नभएकाे पाइएको हो।
रमाना नहुने सूचीमा प्रहरी चौकी प्रसौनी भाठामा कार्यरत वरिष्ठ सई बाबुराम ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साको उजुरी शाखामा कार्यरत वरिष्ठ सइ रञ्जन सिंह, वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत वरिष्ठ सइ यमनाथ पनेरू छन्। यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साको कार्यशाखामा कार्यरत सइ पवनकुमार कुशवाह, जिन्सी शाखामा कार्यरत सइ मित्रबहादुर राई र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत भीमबहादुर बोहरा पनि रमाना भएका छैनन्।
वरिष्ठ सइ ढकालको जिल्ला प्रहरी कार्यालय चितवन, वरिष्ठ सइ सिंहको जिल्ला प्रहरी कार्यालय रामेछाप र वरिष्ठ सइ पनेरूको जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएको छ। यस्तै, सइ कुशवाहको रातोमाटे गण मकवानपुर, सइ राईको काठमाडौं र सइ बोहराको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ बग्गीखानामा सरुवा भएको हो।
पर्सामा लामो समयदेखि कार्यरत वरिष्ठ सइ र सइहरुको सरुवा भए पनि माथिल्लो निकायबाट चासो नहुँदा उनीहरू रमाना नभएका हुन्।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जिल्लामा कार्यरत वरिष्ठ सइ र सइहरुको सरुवा भएको ठाउँमा रमाना गर्न माथिल्लो निकायबाट कार्यादेश भइसकेकाले अब केही दिनमा उनीहरू रमाना हुने बताए। तिवारी यादव/नयाँपत्रिका