पर्साको पश्चिमी ग्रामीण भेग गाँजा तस्करीको प्रमुख ‘ट्रान्जिट’ बन्दै



वीरगंज । नेपालमा लागु औषध गाँजाको उत्पादन तथा ओसारपसार प्रतिबन्धित छ। प्रहरीले खेत-खेतमा पुगेर विशेष अभियानमार्फत गाँजा फाँड्ने कार्य गर्दै आएको छ, जुन नौलो विषय होइन। तर, पहाडी जिल्लाबाट आउने गाँजा तस्करी हुँदै भारत पठाउने क्रम भने रोकिएको छैन।

भारततर्फ गाँजा तस्करीका लागि पर्साको पश्चिमी ग्रामीण भेगको सीमावर्ती क्षेत्र प्रमुख ट्रान्जिट पोइन्टका रूपमा प्रयोग भइरहेको छ। यसको उदाहरण धोबिनी गाउँपालिकाको घोडदौडा नजिक रहेको भारतको बिहारस्थित खमिहा गाउँमा भएको बरामदगी हो। भारतीय इनरवा प्रहरी र एसएसबीको संयुक्त टोलीले त्यहाँ ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सूत्रका अनुसार, नेपालबाट पिकअप गाडीमा लोड गरिएको गाँजा सीमावर्ती गाउँहरूमा झारिन्छ, त्यसपछि भरियाहरूको माध्यमबाट रातिको समयमा सीमा पार गरिन्छ। तस्करहरूले मोटरसाइकलको डिकी तथा बोराझोरामा बाधेर लाग्ने गरेका छन । यस्का साथै महिलाको सहयोग लिएर समेत गाँजा तस्करी गर्ने गरेका छन्। महिलाहरूले झोलामा वा शरीरमा गाँजा लुकाएर पर्साको पश्चिमी ग्रामीण भेगबाट अवैध रूपमा भारततर्फ लैजाने गरेका छन्।

भारत-नेपाल सीमा क्षेत्र हुँदै गाँजा तस्करीको अवैध कारोबार तीव्र रूपमा बढिरहेको छ। शुक्रबार भारतीय इनरवा प्रहरी र एसएसबीको संयुक्त कारबाहीमा ५५ किलो ९ ग्राम गाँजा जफत गरिएको छ, जसको अन्तर्राष्ट्रिय मूल्य २२ लाख ३६ हजार रुपैयाँ आँकलन गरिएको छ।

गोप्य सूचनाका आधारमा शुक्रबार बिहान इनरवा प्रहरी र एसएसबीको टोलीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी गरिरहेको थियो। कुहिरोको फाइदा उठाउँदै तस्करहरू नेपालबाट भारतीय भूमिमा प्रवेश गर्न खोजिरहेका थिए। प्रहरीले घेरा हाल्ने प्रयास गरे पनि तस्करहरू बोराहरू त्यहीँ छाडेर नेपालतर्फ भाग्न सफल भए।

प्रहरीका अनुसार इनरवा क्षेत्र नेपाल-भारत सीमावर्ती क्षेत्रको प्रमुख ट्रान्जिट पोइन्ट बन्दै गएको छ, जहाँ ठूला परिमाणमा लागु औषध ओसारपसार भइरहेको छ। सुरक्षाकर्मीहरूले सीमा निगरानी थप कडा बनाउने बताएका छन्।

प्रहरी प्रमुख जय कुमारका अनुसार एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज