मधेस प्रदेशमा मुक्त हरवा चरवाका लागि न्यायिक पुनर्स्थापनाको माग, विभिन्न पालिकामा ज्ञापन पत्र बुझाइयो



वीरगंज – २०, फागुन । मधेस प्रदेशका मुक्त हरवा चरवा समितिका विभिन्न स्थानीय तहका कमिटीहरूले न्यायिक पुनर्स्थापनाको माग राखी स्थानीय पालिकालाई ज्ञापन पत्र बुझाएका छन्।

“मुक्त हरवा चरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मूल नाराका साथ मधेस प्रदेशमा सञ्चालन भइरहेको जागरण अभियानअन्तर्गत पर्साको पकहामैनपुर, बाराको करैयामाई, रौतहटको वृन्दावन र सिरहाको औरही पालिकामा ज्ञापन पत्र बुझाइएको हो।

पर्साको पकहामैनपुरमा मुक्त हरवा चरवा कमिटीका केन्द्रीय सदस्य खुबलाल रामको नेतृत्वमा गएको टोलीले प्रमुख प्रशासनिक अधिकृत देवनाथ साहलाई ज्ञापन पत्र बुझाउँदै संघ र प्रदेश सरकारसँग समन्वय गरी स्थानीय सरकारले मुक्त हरवा चरवाको वास्तविक तथ्यांक संकलन गर्नुपर्ने, उनीहरूलाई वर्गीकृत परिचयपत्र प्रदान गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नुपर्ने तथा लैंगिक भेदभावरहित समान र उचित ज्याला सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

प्रेषित ज्ञापन पत्रमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटमा हरवा चरवाको पक्षमा नीति निर्माण, कार्यक्रम र बजेट विनियोजन गरिनुपर्ने तथा उनीहरूको पहिचान, परिचयपत्र वितरण र पुनर्स्थापनाका लागि स्थानीय तहबाट कार्यविधि निर्माण गरिनुपर्ने लगायतका माग गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताउनुभयो।

त्यसैगरी, बाराको करैयामाईमा झगरु पासवान, रौतहटको वृन्दावनमा दशरथ राम, र सिरहाको औरहीमा श्यामसुन्दर सदाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुवासहेव पासवानले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज