
वीरगंज । सीमा सुरक्षाको जिम्मा लिएर बसेको प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश गुरुङले नै नाकालाई तस्करीको हबको रुपमा विकास गरेको पाइएको छ ।
प्रारम्भमा इमान्दारीताको ढोंग गर्दै तस्करी नियन्त्रणको ‘सिंघम शैली’ देखाएका गुरुङ पछिल्ला महिनाहरूमा तस्करहरूसँगको साँठगाँठमा संलग्न भएको गम्भीर आरोप लागेको छ।
नेपाल भारतसीमा क्षेत्र आसबारी, जानकीटोला, पाण्डेपुर, पिडारी र भङ्गहा बलुवाबाट विभिन्न सामानहरूलाई तस्करी गर्न सशस्त्रका डिएसपी गुरुङको मिलेमतो रहेको पाइएको हो ।
सूचनाका अनुसार, गुरुङको निर्देशनमा भारतबाट नेपालतर्फ रङ्गाभैंसी, कपडा, बच्चाहरूका लागि भारतीय ब्रान्डका पिउने दूध, काजु, किसमिस, चकलेट, कुखुराका चल्ला, कुखुरा, धान, जुत्ता–चप्पल, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक पार्ट्स, मोटर पार्ट्स, प्रतिबन्धित औषधि, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ पानमसाला, राजनिवास, रजनीगन्धा, पराग , लुगा धुने डिटर्जेन्ट, भाँडाकुँडा, स्पेयर पार्ट्सल, खानेतेल, चिनी लगायतका सामानहरूको अवैध ओसारपसार भइरहेको छ। यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्।
उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।
त्यसैगरी, नेपालबाट प्रतिबन्धित प्लास्टिकजन्य वस्तु, युनिलिभरका उत्पादनहरू, फेयरलवलीको पाउच, क्लोजअप पेस्ट, चुरोट, चाइनिज लाइटर, १० फिटे चाइनिज ईन्चीटेपगायतका लाखौं मूल्यका सामान भन्सार छलेर भारत पुग्ने गरेको स्रोतको दाबी छ।
पर्साको आसबारी, जानकीटोला, पाण्डेपुर र नाकाबाट कतिसम्म तस्करी हुन्छ भन्ने कुरा केही दिन अघिको घटनाले पुष्टि गर्छ । गएको केही महिनायता बिओपी मिर्जापुरका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरिले कयौं पटक रङ्गाभैंसी पक्राउ गरी भन्सार बुझाएको तथ्यले पनि भिखमपुर गुल्मका डिएसपी गुरुङ तस्करी रोक्ने होइन, सहजीकरण गरिरहेको संकेत गर्छ।
यतिमात्र होइन, भारततर्फ लागु औषध गाँजा तस्करीका लागि पर्साको पश्चिमी ग्रामीण सीमावर्ती क्षेत्र— आसबारी, जानकीटोला, पाण्डेपुर, पिडारी र भङ्गहा बलुवा नाका प्रमुख ट्रान्जिट पोइन्टका रूपमा प्रयोग भइरहेको छ। ती स्थानहरूबाट लागु औषधको कारोबार फस्टाउँदै गएको छ। नेपालबाट तस्करी भइरहेको लागु औषध (गाँजा) र मदिरा (रक्सी) भारतीय सुरक्षा निकायले धमाधम बरामद गरिरहेका छन्, तर नेपाली सुरक्षाकर्मी लागु औषध नियन्त्रणमा असफल देखिएका छन्। नेपाली सुरक्षाकर्मी तस्करीको मार्ग खुला गराएर गोजी भर्नमै व्यस्त रहेको स्थानीयहरूको आरोप छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश गुरुङसँग खुलेआम भइरहेको तस्करीबारे प्रतिक्रिया लिन पटक-पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्। सशस्त्र प्रहरी गण नं. १३, पर्साका गणपति एसपी राधेश्याम धिमालसँग यस विशषमा बुझ्दा गुनासो आएको छ आसबारीको सइलाई तानेको छु अर्को सइ पठाउन लागेको र अरु के रहे छ म बुझ्छु भनेर प्रतिक्रिया दिए ।
सुरक्षाकर्मीको संरक्षणमा तस्करी!
सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको संलग्नतामा सीमा क्षेत्रमा तस्करी भइरहेको यस घटनाले सुरक्षाकै नाममा राखिएका निकायहरूको प्रभावकारितामाथि प्रश्न उठाएको छ। सीमामा बढ्दो तस्करी रोक्नका लागि उच्च तहबाट छानबिन हुनु आवश्यक रहेको सुरक्षा विज्ञहरूको भनाइ छ।यो गम्भीर विषयमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायहरूले कस्तो कदम चाल्नेछन्? अबको केही दिनमा मात्र स्पष्ट हुनेछ।