बारामा चिकित्सकलाई धम्की दिँदै २० लाख फिरौती माग्ने व्यक्ति पक्राउ



बारा प्रहरीले धम्की दिँदै फिरौती रकम माग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–५, घुसुकपुरका डा. बिकेश कुमार पाण्डेयलाई पटकपटक फोनमार्फत धम्की दिँदै २० लाख रुपैयाँ फिरौती माग्ने व्यक्तिलाई प्रहरीले विशेष अपरेशनमार्फत नियन्त्रणमा लिएको हो ।

चैत २ गतेदेखि अज्ञात व्यक्तिले डा. पाण्डेयलाई फोन गर्दै ‘तिम्रो ऐ. प्लस हस्पिटलमा बम राखिएको छ, तत्काल २० लाख रुपैयाँ फिरौती दिनुपर्छ’ भन्दै धम्क्याएका थिए । बाराका प्रहरी उपरीक्षक (एसपी) मुरारी सिलवालको नेतृत्वमा अनुसन्धान अघि बढ्दा फिरौती माग्ने व्यक्ति घुसुकपुरका ४८ वर्षीय मदन मिश्र भएको पत्ता लागेको हो ।

प्रहरीले सीमावर्ती भारतको बिहार राज्यको मोतिहारी प्रहरीसँग समन्वय गर्दै विशेष टोली परिचालन गरी मिश्रलाई कलैया उपमहानगरपालिका–१०, शिवपुर चिउटाहाबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय बाराले मिश्रमाथि थप अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानका क्रममा मिश्रले लामो समयदेखि डा. पाण्डेयलाई धम्क्याउँदै रकम असुल्न योजना बनाएको खुलासा भएको छ । धम्कीका कारण त्रसित बनेका पाण्डेयले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज