
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने प्रतिपक्षी दलहरूको ‘बटमलाइन’ रहेको बुझेका प्रधानमन्त्री केपी शर्मा ओली ‘पेलेरै’ अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।
संसद् निरन्तर अवरुद्ध गर्न नहुने बताउँदै उनले यसरी अगाडि बढ्न नसकिने भएकाले तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका छन् ।
सोमबार बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका ओलीले गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा नियमित गतिविधि सञ्चालन हुने बताए ।
‘मंगलबारदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको छु, उहाँ सम्पर्कमा आउनुभएन, वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । संसद् सधैं बन्द हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन, त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन, मंगलबारदेखि सदन चल्छ ।’ राजधानी दैनिकबाट