मेघराज राय – जिराभवानी, १७ साउन l ठोरी गाउँपालिकाकाे छैटौं गाउँसभा आज सम्पन्न भएको छ । गत असार ३१ गते सुरु भएको सभामा अघिल्लो आर्थिक बर्षमा प्रस्तुत भएको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै बहुमत गाउँसभाले विरोध जनाएपछि स्थगित भएको सभा आज सम्पन्न भएको हो।
गाउँकार्यपालिका कार्यालय घ्याङडाँडामा सम्पन्न सभाले आर्थिक बर्ष २०७८/७९ का लागि ४७ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको बजेट पारीत गरेको छ । गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष २०७८/७९ का लागि विनियोजन बिधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङ्ले चालुतर्फ ६ करोड ९४ लाख ५३ हजार र पुँजीगत तर्फ ४० करोड ७६ लाख १९ हजार बजेट पेस गरेकी थिइन्।
बजेटले ठोरीका सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी , कार्यालय सहयोगी , कार्यालय सहायक र स्वयमसेवक शिक्षकको तलबमा कम्तिमा २ हजारदेखि २३३ प्रतिशत सम्म वृद्धि गरेको छ ।
गापामा कक्षा ५ सम्म सन्चालित आधारभूत तहको विद्यालयमा मासिक ४ हजार ५ सय तलबमा कार्यरत कार्यालय सहयोगीको तलबमा २३३ प्रतिशत वृद्धि गर्दै रु १५ हजार पुगेको छ भने कक्षा ८ सन्चालित आधारभूत र माध्यमिक विद्यालयमा सन्चालित कार्यालय सहयोगीको तलब दोब्बर वृद्धि भएर १५ हजार पुगेको छ। यस्तै गाउँसभाले ठोरीका सबै सामुदायिक विद्यालयमा संघीय र गापाको अनुदानमा कार्यरत बालविकास सहजकर्ताहरुको तलब वृद्धि गर्दै १५ हजार पुर्याएको छ।
सभाले गापाको अनुदानमा कार्यरत २१ जना सहजकर्ताहरुको तलबमा मासिक रु ९ हजार र संघीय अनुदानमा कार्यरत सहजकर्ताहरुको तलबमा मासिक ७ हजार वृद्धि गरेर सरकारले लागु गरेको न्युनतम मासिक तलब १५ हजार पुर्याएको हो।
यस्तै ठोरीका सबै विद्यालयका कार्यालय सहायकको तलब रु १७ हजार तथा गापाको अनुदानमा कार्यरत १३ जना स्वयमसेवक शिक्षकहरुको तलबमा मासिक रु २ हजार थप गरिएको छ। पालिकाले टोलटोलमा सिकाई सहजीकरणका लागि नियुक्त गरेको घरदैलो स्वयमसेवकको तलबमा पनि मासिक २ हजार वृद्धि गरेको छ ।
यस्तै उपाध्यक्ष थिङ्ले आगामी आर्थिक बर्षमा सिता गुफामा मुर्ती स्थापना र अन्य व्यवस्थापनका लागि रु १५ लाख , बाघमोर्चा मन्दिर वरपर पार्क निर्माण तथा मुर्ती खरीदका लागि रु १५ लाख ,शव बाहन खरीदका लागि रु १५ लाख , ठोरी गापा ३ मा आईटी कलेज स्थापनाका लागि २ करोड ४९ लाख , इच्छानगर जाने बाटोमा ठुटेखोलामा , सालघारी र ढेडुखोलामा झोलुङ्गे पुल स्थापनाका लागि रु ३६ लाख , पालिकाभित्रका विभिन्न ठाउँमा फ्री वाईफाईका लागि रु १० लाख बजेट प्रस्तुत गरेकी थिइन । सभामा प्रस्तुत विनियोजन बिधेयक सर्वसम्मतिले पारीत भएको अध्यक्ष श्रेष्ठले बताए।
सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले सबै क्षेत्रलाई समेटेर विकास गर्न कोसिस गरेको भएपनि बजेट अभावले कहिकतै समस्या भएकोमा स्वीकार गरे। उनले जिल्लामा अन्य पालिकाको तुलनामा आफुले धेरै नै विकास गरेको दाबी गरे।
सभामा वडाध्यक्षहरु राम प्रकाश कुँवर , किशोर तामाङ , सुर्य बहादुर लामा , बई बहादुर तामाङ र राम बहादुर पाख्रीनले पालिकामा भएका गल्ती कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए।