पर्सामा तस्करी पुनः मौलाउँदै, सशस्त्र प्रहरी प्रमुखमाथि संरक्षणको आरोप



वीरगंज । दशैं नजिकिँदै जाँदा पर्सा जिल्लामा तस्करहरूको चहलपहल पुनः तीव्र बनेको छ। झोलपोकेदेखि साना सवारी साधन प्रयोग गर्ने तस्करको गतिविधि खुलेआम भइरहेका बेला ठूलो तस्करीको ‘लाइन’ पनि खोल्ने अन्तिम तयारी भइरहेको सशस्त्र स्रोतको दाबी छ।

पर्सामा सशस्त्र प्रहरी बल १३ नं. गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्ट आएलगत्तै एक डेढ महिनासम्म तस्करी पूर्ण रूपमा नियन्त्रणमा रहेको थियो। तर, ढेढ महिना नबित्दै दशैं नजिकिँदा पुनः तस्करी मौलाउन थालेको छ।

स्रोतका अनुसार एसपी भट्ट स्वयं तस्कर र बिचौलियासँग भेटघाटको क्रम बढाइरहेका छन्। सशस्त्र प्रहरीले साना सामान बरामद गरी देखावटी कारबाही गर्ने तर प्रचारबाजी बढी गर्ने प्रवृत्ति देखिएको छ। रातको समयमा भने सेटिङ मिलाएर ठूलो मात्रामा सामान भित्र्याउने गरिएको स्थानीयवासीहरूले आरोप लगाएका छन्।

स्रोतका दाबीअनुसार भट्टले संगठित तस्करीलाई ‘लाइन’ खोलेर संरक्षण दिइरहेका छन्। उनका कारण पर्साका सीमा नाकाहरू – छपकैया, ड्राइपोर्ट सिरीसिया, अलौ, कोनिया, तिलावेबर्वा, अमरपट्टी, प्रसौनीभाठा र धोरे – बाट भारतीय सामानको ठूलो मात्रामा चोरी निकासी/पैठारी भइरहेको छ।

विशेष गरी पर्साको प्रसौनीभाठा, धोरे र अमरपट्टी नाकाबाट भारतीय ब्रान्डका दूध, काजु, चकलेट, किराना सामान, कपडा, जुत्ता–चप्पल, सूर्तीजन्य पदार्थ, कुखुराको चल्ला लगायतका वस्तु ठूलो मात्रामा नेपाल भित्र्याइएको छ। अमरपट्टी र आसपासका पाँच गाउँमा मात्रै ८०–१०० वटा कुखुराफार्म तस्करीकै चल्लामा निर्भर रहेको स्थानीयवासीहरूको भनाइ छ।

यसअघि महोत्तरीमा गणपति रहेका भट्टलाई असारमा पर्सा सरुवा गरिएको हो। गृह मन्त्री रमेश लेखककै जिल्लावासी भएका कारण उनी पर्सामा पठाइएको आरोप समेत लागेको छ। प्रहरी वृत्तमा ‘जिल्ला इन्चार्जदेखि अर्को जिल्लाको इन्चार्ज’ मा सरुवा गर्ने विकृति नेपाल प्रहरीबाट सशस्त्र प्रहरीले पनि नक्कल गरेको भन्दै असन्तुष्टि बढेको छ।

पर्साका स्थानीयहरूका अनुसार खुलेआम भइरहेको यो तस्करीमा सशस्त्र प्रहरी नेतृत्व नै निरिह बनेको छ भने गण प्रमुख भट्टको मौन सहमति र संलग्नताले पर्सा ‘तस्करीको हब’ बन्न थालेको छ।

“यस विषयमा बुझ्न सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज