पोखरिया क्षेत्र लागूऔषध तस्करीको ‘सुरक्षित रुट’, गाँजा सहित दुई जना पक्राउ



वीरगंज । पर्साको पोखरिया क्षेत्र पुनः लागूऔषध तस्करीको ट्राञ्जिट हबको रूपमा चिनिन थालेको छ। सीमावर्ती भूगोलको फाइदा उठाउँदै तस्करहरूले यस क्षेत्रलाई मुख्य मार्गका रूपमा प्रयोग गरिरहेको पाइएको छ। बेला–बेलामा प्रहरीको सक्रियतामा पक्राउ पर्ने घटना सार्वजनिक भए पनि अवैध कारोबार भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

यसै क्रममा, इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा ले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ७ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका–५ स्थित महुवन बजारको सडकखण्डमा नियमित चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–५ निवासी ३९ वर्षीय मोहिचन यादव र पर्सागढी नगरपालिका–९ निवासी ४० वर्षीय बैजनाथ यादव रहेका छन्। प्रारम्भिक जाँचका क्रममा उनीहरूको शरीर खानतलासी गर्दा पेट र पिठ्युँ भागमा सेतो टेपले टाँसी रातो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा करिब ५ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार तस्करी सञ्जालबारे थप तथ्यहरू खुल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूका अनुसार, पोखरिया क्षेत्र लामो समयदेखि लागूऔषध ओसारपसारको ‘सुरक्षित रुट’ का रूपमा प्रयोग हुँदै आएको छ। खुला सिमाना, कमजोर निगरानी र संगठित सञ्जालका कारण तस्करी मौलाउँदै गएको उनीहरूको भनाइ छ।

यस घटनाले पुनः एकपटक सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि कडा निगरानी, प्रभावकारी रणनीति र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज