वीरगंज । जेनजी बिद्रोह भ्रष्टाचार र तस्करी नियन्त्रणका लागि भएको बताइए पनि, त्यसपछि अपेक्षित सुधार पर्सा जिल्लामा देखिएको छैन। जेनजी बिद्रोहपछि ६ महिनाभित्र चुनाव भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार निश्चित भइसकेको छ, तर पर्सामा सुरक्षा निकायको संरक्षणमै अवैध कुखुरा तस्करी भइरहेको आरोप उठेको छ।
स्थानीयहरूले आरोप लगाएका छन् कि सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा सीमावर्ती क्षेत्रबाट अवैध कुखुरा तथा चल्ला नेपाल भित्र्याइँदै आएको छ।पर्साको जानकीटोला र आसबारी नाकाबाट ठूलो मात्रामा कुखुराको चल्ला अवैध रूपमा भित्र्याइँदै आएको स्थानीयहरूले दाबी गरेका छन्।
सूत्रका अनुसार, भारतका ह्याचरी उद्योगबाट खरिद गरिएका चल्ला पिकअप गाडीमा सिमावर्ती गाउँ इनर्वा र खमियामा ल्याइन्छ र राति गण्डक नहरको मुख्य बाटो तथा घोडदौरा–आसवारी नाका तस्करहरूको प्रमुख रुट बनेको छ। मोटरसाइकल तथा पैदल भरियामार्फत जानकीटोला र आसबारीको बाटो हुँदै विभिन्न स्थानमा पुर्याउने गरिएको छ। यसरी भित्र्याइएका चल्लाबाट पर्साका ग्रामीण भेगमा अधिकांश कुखुरा फर्म सञ्चालन भइरहेको स्थानीयको भनाइ छ।
त्यसैगरी, भारतमा सस्तो पर्ने बोइलर कुखुरा पनि अवैध तस्करीमार्फत नेपाल भित्रिने क्रम बढ्दो छ। मोटरसाइकल र साइकलमा झोला तथा बाँसको प्रयोग गरी एकैपटक ठूलो परिमाणमा कुखुरा ओसारपसार गरिने गरिएको छ। तस्करीबाट ल्याइएका कुखुरा जानकीटोला, लंगडी, पोखरिया, बोकहवा, महुवन, डकैला लगायतका क्षेत्रका होटल तथा फ्रेश हाउसहरूमा बिक्री हुने गरेको छ। केही व्यवसायीले फर्म दर्ता गरेर तस्करीका कुखुरालाई आफ्नै उत्पादन देखाउँदै नक्कली बिलमार्फत वीरगंज, जितपुर, हेटौंडा, नारायणगढ, पोखरा र काठमाडौंसम्म पठाउने गरेको स्रोतले बताएको छ।
भारतीय कुखुरामा ‘जिग्रोमिन’ नामक छिटो हुर्कने औषधी प्रयोग गरिन्छ, जसले ४० दिनमै दुईदेखि तीन किलोसम्मको कुखुरा उत्पादन गराउँछ। यस्ता औषधी प्रयोग गरिएका कुखुरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरिएको छ।
नेपालमा अवैध रूपमा भित्रिने लेयर्स, ब्रोइलर, प्यारेन्ट्स लगायत विभिन्न जातका कुखुराले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भए पनि नेपाली बजारमा ती सहजै बिक्री भइरहेका छन्। स्थानीयले सरोकारवाला निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। यदि अवैध कुखुरा तस्करी नियन्त्रण नगरेमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।