रौतहट, ११ कात्तिक। पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरको ओटीपी उपलब्ध गराएको आरोपमा भारतको रक्सौलबाट दुई युवक पक्राउ परेका छन्।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रक्सौल नगरपालिका–११ का आदित्य पाण्डेय र मधुबनी जिल्ला घर भई रक्सौलमा बस्दै आएका राजा कुमार रहेका छन्।
भारतको विजयवाडा प्रहरीले रक्सौल प्रहरीको सहयोगमा दुवै युवकलाई पक्राउ गरेको हो। उनीहरूमाथि कथित पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बर प्रयोग गरी ह्वाट्सएप खाता खोल्न आवश्यक ओटीपी उपलब्ध गराएको र त्यसबापत रकम लिएको आरोप छ।
प्रहरीका अनुसार पक्राउ परेका युवकहरूको मोबाइल फोनबाट आर्थिक कारोबारसँग सम्बन्धित प्रमाण फेला परेको दाबी गरिएको छ। घटनालाई भारतविरोधी गतिविधि तथा सम्भावित साइबर जासुसीसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले ओटीपी उपलब्ध गराउने कार्यमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा आर्थिक कारोबारको वास्तविक उद्देश्यबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
यद्यपि, पक्राउ परेका दुवै युवकमाथि लागेका आरोप अदालतबाट पुष्टि हुन बाँकी छ। उनीहरूलाई दोषी ठहर गर्नुअघि कानुनी प्रक्रियाबाट आरोप प्रमाणित हुनुपर्नेछ।


तपाईको प्रतिक्रिया !