पर्सामा सशस्त्र प्रहरीको कारबाही, ४४ लाखभन्दा बढीका अवैध सामान बरामद

NEWS DESK
२०८३ कार्तिक ९, सोमवार ०८:१९ बजे

वीरगञ्ज, ९ कात्तिक। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न युनिटले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेका छन्। भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका ती सामान नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीका अनुसार, २०८३ साल कात्तिक ८ गते पर्साका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रबाट खटिएको टोलीले ७ लाख १० हजार ५२० रुपैयाँ बराबरका कपडा, कस्मेटिक तथा किराना सामान बरामद गरेको थियो।

त्यसैगरी, कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठास्थित बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले चेकजाँचका क्रममा बा.६३ प ६८१५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ। सोही बीओपीको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ बराबरका कपडा तथा मोटरपार्ट्ससमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कात्तिक ७ गते वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी सुख्खा बन्दरगाहबाट खटिएको पैदल गस्ती टोलीले सीमा क्षेत्रको धानखेतमा बेवारिसे अवस्थामा रहेको ८ लाख १७ हजार ६८० रुपैयाँ बराबरका विभिन्न औषधि तथा अन्य सामान बरामद गरेको थियो।

यसैगरी, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा ३ लाख ५ हजार ६२० रुपैयाँ बराबरका खरबुजाको बीउ, तोरी तथा कपडा बरामद गरेको छ। सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले १ लाख ८४ हजार रुपैयाँ बराबरका कपडा तथा इलेक्ट्रोनिक्स सामान नियन्त्रणमा लिएको छ।

त्यस्तै, बीओपी सिर्सियाबाट परिचालित टोलीले विभिन्न मितिमा २ लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरी कात्तिक ८ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

तिहार र छठलाई लक्षित गर्दै प्रतिबन्धित पटका नष्ट

नजिकिँदै गरेका तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब ३ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटका पनि पर्साका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ। बरामद गरिएका पटकाहरू आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानमध्ये भन्सार छली गरी ल्याइएका वस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ भने प्रतिबन्धित पटका नष्ट गरिएको हो।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्न सुरक्षा सतर्कता उच्च पारिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्