काठमाडौँ, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु. ५ अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ। यो रकम गत वर्षको असोज र चालु आवको भदौ महिनाको तुलनामा बढी हो।
बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो।
प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको छ। उक्त विद्युत् बिक्रीबाट रु. ५ अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको हो।
द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो। बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
गत वर्षको असोज महिनामा भारततर्फ विद्युत् निर्यातबाट रु. ४ अर्ब ९६ करोड ३० लाख बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आवको भदौमा रु. ५ अर्ब ९ करोड २५ लाखको विद्युत् बिक्री भएको थियो।
यसअनुसार गत वर्षको असोजको तुलनामा चालु आवको असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम रु. ९६ करोड २० लाखले बढेको छ। भदौको तुलनामा भने रु. ८३ करोड २५ लाखले वृद्धि भएको हो।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल रु. १६ अर्ब १५ करोड १३ लाख बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। गत कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि विद्युत् निर्यात रोकिएको थियो। बाढीले केही आयोजनाको उत्पादन प्रभावित बनाएपछि भारतको हरियाणा राज्यतर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात गरिँदै आएको छ।
निर्यात अनुमति प्राप्त क्षमता १ हजार १७९ मेगावाट
प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ।
नेपालले आन्तरिक माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत तथा बङ्गलादेशमा निर्यात गर्दै आएको छ। यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्नुका साथै वर्षायाममा खेर जाने विद्युत्को उपयोग गर्न पाएको छ।


तपाईको प्रतिक्रिया !