बारा। बाराको कोल्हवी नगरपालिका–२, निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा चिनजानका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः२५ बजे खेतको डिलमा एक पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो।
उपचारकै क्रममा साँझ ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक अन्दाजी ६० देखि ६२ वर्ष उमेरका, कालो वर्णका र करिब ५ फिट ६ इन्च अग्ला रहेको प्रहरीले जनाएको छ। उनको कपाल सेतो रहेको छ।
मृतकले सेतोमा हरियो धर्सा भएको गम्छा, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको दाहिने हातको नाडीमा रातो धागो र दाहिने हातको साइँली औँलामा औँठीसमेत रहेको प्रहरीले जानकारी दिएको छ।
हाल मृतकको शव प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको छ। मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरी पहिचान खुलाउन प्रहरीले अनुरोध गरेको छ।


तपाईको प्रतिक्रिया !