काठमाडौँ । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह दिउँसो रङ्गशाला पुगेर विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नेछन्। आजदेखि सुरु हुने प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा चित्रण गरेका छन्।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्। उनले नेपाली क्रिकेटको निरन्तरताका लागि समेत शुभेच्छा व्यक्त गरेका छन्।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुने कार्यतालिका छ।
गत संस्करणमा उपाधि र उपविजेताको स्थान हासिल गरेका यी दुई टोलीबीचको भिडन्तलाई प्रतियोगिताको सुरुवाती आकर्षणका रूपमा हेरिएको छ।
आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा
यस संस्करणको एनपीएलमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन्।
नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटप्रेमीमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ। उद्घाटन समारोहसँगै सुरु हुने एनपीएलका खेलहरूमा आठै टोलीले उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।


तपाईको प्रतिक्रिया !