फ्रान्समा प्रदर्शनका क्रममा १ हजार ३१४ जना पक्राउ, ५३ प्रहरी घाइते

NEWS DESK
२०८३ कार्तिक ८, आइतवार १९:५९ बजे

पेरिस, ८ कात्तिक । फ्रान्सभरि जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा प्रहरीले शुक्रबार र शनिबार गरी एक हजार ३१४ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा भएका झडपमा ५३ जना प्रहरी घाइते भएका छन्।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशका प्रमुख सहरहरूमा भएका प्रदर्शनका क्रममा हिंसा भड्किएपछि ठूलो सङ्ख्यामा प्रदर्शनकारी पक्राउ परेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले ७५ वटा आगजनीका घटना नियन्त्रणमा लिएको थियो भने २४ वटा पसलमा लुटपाट भएको थियो।

फ्रान्समा सप्ताहन्तमा लगातार दोस्रो पटक अशान्ति भएको हो। आगामी अप्रिल र मेमा राष्ट्रपतीय निर्वाचन हुन लागेको समयमा प्रदर्शन चर्किएपछि यसले देशको राजनीतिक वातावरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल पूरा भएपछि हुन लागेको निर्वाचनबाट नयाँ राष्ट्रपति चयन हुनेछन्।

आन्तरिक मन्त्रालयले घटनासम्बन्धी केही अनुसन्धान सुरु गरिएको जनाएको छ। यद्यपि, अनुसन्धानको विषय र प्रगतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

शनिबार राति झडप शान्त भएपछि सहरहरूको अवस्था सामान्य बनेको मन्त्रालयले जनाएको छ। तर प्रदर्शनकारीहरूले आगामी दिनमा थप प्रदर्शनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

प्रदर्शनकारी पनि घाइते

फ्रान्सका आन्तरिक मन्त्री लोराँ न्युनेजले शनिबार राति टुलुज र क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएको जानकारी दिनुभएको थियो।

टुलुजको प्रिफेक्चर प्रशासनले एएफपीलाई दिएको जानकारीअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ। प्रदर्शनकारीको उपचारमा संलग्न एक सडक चिकित्सकका अनुसार ती युवकको दाहिने हातका केही औँला गोली लागेर गुमेका छन्।

त्यस्तै, क्लर्मोन्ट–फेरान्ड क्षेत्रको प्रशासनले त्यहाँ एक जना प्रदर्शनकारीको हातमा चोट लागेको पुष्टि गरेको छ। तर उनको हातका कुनै पनि औँला नगुमेको जनाइएको छ।

क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक का अनुसार पोइतियर्समा भएको प्रदर्शनका क्रममा एक जनाको बायाँ आँखामा चोट लागेको छ। उक्त घटनासँग सम्बन्धित तस्बिरसमेत पत्रिकाले प्रकाशित गरेको छ।

आइतबार सार्वजनिक गरिएको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा प्रदर्शनका क्रममा घाइते भएका नागरिकको कुल सङ्ख्या भने उल्लेख गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्