सर्लाहीमा धान भित्र्याउन कामदार अभाव, पाकेको बाली खेतमै

NEWS DESK
२०८३ कार्तिक ९, सोमवार ०९:११ बजे

सर्लाही, कात्तिक ९ । धान भित्र्याउने समयमा कामदार अभाव भएपछि सर्लाहीका किसान समस्यामा परेका छन्। जिल्लाको उत्तरी भेगमा धान पाकेर पहेँलपुर भए पनि काट्ने, बोक्ने र घरमा थन्क्याउने कामका लागि पर्याप्त कामदार नपाउँदा किसानलाई सास्ती भएको हो।

घारिबथान, परवानीपुर, रानीगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया र हरिवनलगायत क्षेत्रका किसानलाई पाकेको धान भित्र्याउन समस्या भइरहेको छ। दसैँको समयमा धान काट्ने, थ्रेसर लगाउने र घरमा भण्डारण गर्ने चटारो भए पनि कामदार अभावले कृषि कार्य प्रभावित भएको किसानले बताएका छन्।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान भरतप्रसाद गौतमका अनुसार अधिकांश किसानको खेतमा धान पाकिसकेको छ। तर, धान काट्न र थन्क्याउन कामदार खोज्दा पनि सहजै पाउन सकिएको छैन।

जिल्लाको दक्षिणी भेगमा धान ढिलो पाक्ने भएकाले त्यहाँबाट केही कामदार उत्तरी क्षेत्रमा धान काट्न आएका छन्। तर, उनीहरूको सङ्ख्या पर्याप्त छैन। कामदार अभाव भएपछि दसैँ मनाउन गाउँ फर्किएका परिवारका सदस्य तथा आफन्त मिलेर धान काट्नुपर्ने अवस्था रहेको गौतमले बताए।

यस वर्ष दसैँ ढिलो परेकाले चाडपर्वकै समयमा किसानलाई धान भित्र्याउने चटारो परेको उनको भनाइ छ। चाडपर्व मनाउनेभन्दा पनि पाकेको धान कसरी सुरक्षित रूपमा घर भित्र्याउने भन्ने चिन्ता किसानमा बढी रहेको गौतमले बताए।

वर्षाको पूर्वानुमानले किसानलाई थप चिन्ता

कामदार अभावका कारण धान काट्न ढिलाइ भइरहेको अवस्थामा मौसममा हुन सक्ने परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ गतेदेखि वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई पाकेको धान जतिसक्दो छिटो भित्र्याउनुपर्ने दबाब परेको छ।

केही क्षेत्रमा पाकेको धानमा किराको प्रकोप देखिएपछि पनि किसानलाई बाली तत्काल काट्नुपर्ने बाध्यता छ। ईश्वरपुर नगरपालिका–१२, घारिबथानका किसान रामजी थापाका अनुसार किराले धानको बाला काटेर खेतमै झार्न थालेको छ।

थापाले कामदार नपाउँदा धान काट्नेदेखि काटिएको धान र पराल घरसम्म ल्याउनसमेत समस्या भइरहेको बताए। उनका अनुसार गाउँघरमा कृषि काम गर्ने जनशक्ति घट्दै गएको छ भने दक्षिणी भेगबाट आएका सीमित कामदारलाई किसानबीच तानातान गर्नुपर्ने अवस्था छ।

कृषि मेसिन आए पनि कामदारकै भर

पछिल्लो समय धान काट्न केही क्षेत्रमा हाते मेसिनको प्रयोग हुन थालेको छ। तर, मेसिनबाट धान काट्नका लागि पनि दुईदेखि तीन दिनसम्म कुर्नुपर्ने अवस्था रहेको किसानको गुनासो छ। धान झार्नका लागि भने अधिकांश किसानको खेतमा थ्रेसर उपलब्ध हुने गरेको छ।

यद्यपि, धान काट्ने, बोक्ने र पराल थन्क्याउनेजस्ता काममा अझै पनि जनशक्तिकै आवश्यकता पर्ने भएकाले कामदार अभावले किसानलाई समस्या भइरहेको छ।

उत्तरी भेगका किसानलाई अहिले धान भित्र्याउनुका साथै पराल थन्क्याउने, मास उखेल्ने, बोडी टिप्ने र तोरी छर्ने कामसमेत एकैसाथ गर्नुपर्ने चटारो छ। जिल्लाको दक्षिणी भेगमा भने ढिलो पाक्ने धान लगाइएकाले तिहार तथा छठको आसपासमा धान काट्ने समय हुने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ।

४१ हजार हेक्टरमा धान खेती

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यस वर्ष जिल्लाभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। त्यसमध्ये करिब आधा क्षेत्रफलको धान पाकेर भित्र्याउने अवस्थामा पुगेको छ।

कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षणका कारण कृषि क्षेत्रमा कामदार अभाव गम्भीर बन्दै गएको बताए।

उनका अनुसार एकातर्फ सबै किसानको पहुँचमा आधुनिक कृषि उपकरण पुग्न सकेको छैन भने अर्कोतर्फ खेतीपातीका लागि आवश्यक जनशक्ति पनि घट्दै गएको छ।

आधुनिक कृषि उपकरणको सीमित पहुँच, कामदार अभाव र परम्परागत अर्मपर्म प्रणाली कमजोर हुँदै जाँदा खेतीपाती गर्न कठिनाइ बढेको किसानको गुनासो छ। समयमै धान भित्र्याउन नसकिए वर्षा तथा किराको प्रकोपबाट उत्पादनमा क्षति पुग्ने चिन्ता किसानमा बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्