धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

NEWS DESK
२०८३ कार्तिक ९, आईतवार ०८:२४ बजे

जनकपुरधाम । धनुषामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको हत्या भएको आशङ्का गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहारबाट लागेको घाउ देखिएको छ। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुरमा रहेको छ। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।

मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्। बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहारबाट लागेको घाउ देखिएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताएका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न व्यक्ति, घटनाको कारण र घटनाक्रमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्