काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नयाँ प्रविधि थपिएसँगै खेलको समय व्यवस्थापन र सहज प्रसारणलाई ध्यानमा राख्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताको खेल तालिकामा समेत परिमार्जन गरेको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार डीआरएस प्रविधिको प्रयोग तथा प्रसारण व्यवस्थापनलाई सहज बनाउन यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समय परिवर्तन गरिएको हो।
परिमार्जित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। यसअघि दोस्रो खेल दिउँसो ४:३० बजे सुरु हुने तालिका थियो।
त्यस्तै, दैनिक एउटा मात्रै खेल हुने दिनमा पनि खेल साँझ ५ बजेबाट सुरु हुनेछ। यसअघि एकल खेल हुने दिनका खेल दिउँसो ४:३० बजे सुरु हुने तय गरिएको थियो।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
डीआरएस प्रविधिको प्रयोगले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सहज हुने तथा खेलमा निर्णयको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ। यसले प्रतियोगितालाई थप व्यावसायिक, प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने विश्वास क्यानले लिएको छ।


तपाईको प्रतिक्रिया !