वीरगंज । पर्साको सीमावर्ती आसबारी नाकाबाट भारतीय कुखुरा तथा कुखुराका चल्ला अवैध रूपमा नेपाल भित्र्याउने क्रम बढेको स्थानीय तथा कुखुरा व्यवसायीहरूले बताएका छन्। सुरक्षा निकायका स्थानीय पोस्टकै अगाडिबाट समेत बिना रोकतोक कुखुरा र चल्ला ओसारपसार हुने गरेको उनीहरूको आरोप छ।
स्थानीयका अनुसार आसबारी नाकाबाट भारतीय ब्रोइलर कुखुरा मुख्यतः बिहान ४ बजेदेखि ७ बजेसम्म मोटरसाइकल तथा साइकलमा नेपाल भित्र्याउने गरिएको छ। कुखुराका चल्लाको तस्करी भने राति करिब १० बजेदेखि बिहान ४ बजेसम्म हुने गरेको स्रोतको दाबी छ।
चल्ला तस्करीमा स्थानीय ४–५ जनाको छुट्टै समूह सक्रिय रहेको र भारतबाट ल्याइएका चल्ला पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रहेका कुखुरा फार्मसम्म पुर्याउने गरिएको स्थानीयको भनाइ छ। स्थानीय स्रोतका अनुसार कुखुराको चल्ला तस्करी गर्ने समूह र तयारी कुखुरा तस्करी गर्ने समूह फरक–फरक छन्।
स्रोतका अनुसार भारतका ह्याचरीबाट खरिद गरिएका चल्ला पिकअपमार्फत सीमावर्ती भारतीय गाउँ इनर्वा र खमियासम्म ल्याइन्छ। त्यसपछि घोडदौरा–आसबारी क्षेत्रलाई प्रयोग गरी मोटरसाइकल तथा पैदल भरियामार्फत नेपाल भित्र्याउने गरिएको दाबी गरिएको छ। यसरी ल्याइएका चल्लाबाट पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित कुखुरा फार्ममा कुखुरा उत्पादन हुने गरेको स्थानीय बताउँछन्।
त्यसैगरी भारतमा सस्तो पर्ने तयारी बोइलर कुखुरासमेत मोटरसाइकल र साइकलमा झोला, बाँस तथा अन्य साधनको प्रयोग गरी ठूलो परिमाणमा नेपाल भित्र्याउने गरिएको छ। तस्करीबाट ल्याइएका कुखुरा जानकीटोला, लंगडी, पोखरिया, बोकहवा, महुवन, डकैला लगायतका क्षेत्रका चौक, होटल तथा फ्रेश हाउसमा बिक्री हुने गरेको स्थानीयको दाबी छ।
व्यवसायीहरूका अनुसार नेपालमा जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो करिब २७० रुपैयाँ आसपास रहेको अवस्थामा भारततर्फ सोही कुखुरा नेपाली रुपैयाँमा करिब २३० देखि २३५ रुपैयाँसम्म पर्ने गरेको छ। मूल्यमा देखिने अन्तरका कारण भारतीय कुखुरा तस्करी गरी ल्याउने क्रम बढेको उनीहरूको भनाइ छ। सीमाबाट ल्याइएका कुखुरा स्थानीय फ्रेश हाउस तथा बजारमा प्रशोधन गरी प्रतिकिलो ३८० रुपैयाँसम्म बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्।
भारतीय कुखुरा अवैध रूपमा भित्रिँदा नेपाली कुखुरापालक किसान तथा व्यवसायी मारमा परेको उनीहरूको गुनासो छ। भारतमा उत्पादन लागत कम भएकाले सस्तो मूल्यमा आउने कुखुरासँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय उत्पादनले उचित बजार र मूल्य नपाउने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।
एक व्यवसायीका अनुसार अवैध रूपमा भारतीय कुखुरा भित्रिँदा नेपाली कुखुरा व्यवसायको लागतसमेत उठ्न कठिन भएको छ। उनका अनुसार सीमाबाट भित्रिने कुखुराको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनसम्बन्धी प्रक्रिया पूरा नहुने भएकाले पशुपन्छीमा रोग भित्रिने जोखिमसमेत रहन्छ।
कुखुरा व्यवसायी तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले भारतबाट अवैध रूपमा भित्रिने कुखुरा तथा चल्लाका कारण पशुपन्छीजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा प्रभावकारी निगरानी आवश्यक रहेको बताएका छन्। भारतमा समय–समयमा बर्ड फ्लु लगायतका रोग देखिने भएकाले स्वास्थ्य परीक्षण र क्वारेन्टाइनबिनै पन्छी भित्र्याउनु जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार तस्करीका क्रममा कुखुरालाई मोटरसाइकलको पछाडि, लेगार्ड तथा साइकलमा झुन्ड्याएर समेत ओसारपसार गरिन्छ। यसरी पन्छीलाई असुरक्षित र अमानवीय ढंगले ढुवानी गर्दा पशु कल्याणसम्बन्धी मापदण्डको समेत उल्लंघन हुने पशु अधिकारकर्मीहरूको भनाइ छ।
आसबारी नाकाबाट कुखुरासँगै कुखुराका चल्लाको तस्करीमा सुरक्षा निकायका स्थानीय पोस्टका कर्मचारीको मिलेमतो रहेको आरोपसमेत लागेको छ। स्थानीय तथा व्यवसायी स्रोतले सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्थानीय युनिटका जिम्मेवार अधिकारीलाई मासिक रकम बुझाएर तस्करी सञ्चालन हुने गरेको दाबी गरेका छन्। यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।
स्थानीय तथा व्यापारी स्रोतले भारतको बिहारस्थित खमिया र इनर्वा क्षेत्रबाट शेषनाथ, उनका छोरा गुडु तथा सेठ नाम गरेका व्यक्तिहरूले कुखुरा तस्करी व्यवस्थापन गर्दै आएको आरोप लगाएका छन्। उनीहरूले सीमावर्ती क्षेत्रमा दैनिक तिनै जनाले एक /एक पिकअप गरी तीन पिकअपसम्म तयारी बोइलर कुखुरा झार्ने र त्यहाँबाट मोटरसाइकल तथा साइकलमार्फत नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ।
उनीहरूले सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म भिखमपुरका डीएसपी भानबहादुर कार्की, सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट आसबारीका प्रहरी सहायक निरीक्षक (असई) तथा प्रहरी चौकी आसबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कपिल देव साहसँग मिलेमतो गरी कुखुरा तस्करी गराउने गरेको आरोपसमेत स्रोतले लगाएको छ। सम्बन्धित अधिकारीहरूमाथि लगाइएको यो आरोपको स्वतन्त्र पुष्टि भएको छैन।
सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा निकायका स्थानीय पोस्टका इन्चार्जकै मिलेमतोमा तस्करी भइरहेको भए माथिल्लो निकायबाट छानबिन तथा अनुसन्धान हुनुपर्ने कुखुरा स्थानियहरुको माग छ। उनीहरूका अनुसार प्रहरीको आँखा अगाडि तथा सुरक्षा पोस्टको आसपासबाटै ठूलो परिमाणमा कुखुरा ओसारपसार भइरहेको छ।
“जिल्ला प्रहरी प्रमुखले पैसा लिँदैनन् होला, तर सीमामा खटिने सुरक्षाकर्मीको मिलेमतोबिना यस्तो ठूलो परिमाणमा कुखुरा तस्करी सम्भव हुँदैन,” एक स्थानियले भने।
स्थानीय स्रोतका अनुसार आसबारी क्षेत्रमा कुखुरा तथा चल्लासँगै दुहुना गाई–भैंसीको समेत अवैध ओसारपसार हुने गरेको आरोप छ। स्थानीय किसानका लागि भन्दै गाइभैंसी ल्याएर वडाबाट सिफारिस गराई पिकअपमा लोड गरी पोखरा लगायत नेपालको विभिन् शहरमा पठाउने छुट्टै समूह सक्रिय रहेको स्रोतको दाबी छ। गाई–भैंसीको तस्करीसम्बन्धी आरोपबारे पनि सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।
अवैध रूपमा भित्रिने कुखुरा तथा चल्लाको कारोबारले एकातर्फ नेपाली किसान तथा व्यवसायी प्रभावित भएको र अर्कोतर्फ स्वास्थ्य तथा पशुपन्छीजन्य रोगको जोखिम बढेको भन्दै स्थानीयले सीमा नाकामा कडाइ गर्न माग गरेका छन्। उनीहरूले कुखुरा तथा चल्लाको स्रोत, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन र बजारसम्म पुग्ने सम्पूर्ण आपूर्ति शृंखलाको अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
खुलेआम तस्करी भइरहेको आरोपबारे प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) भानबहादुर कार्कीको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भए समाचारमा समेटिनेछ।


तपाईको प्रतिक्रिया !