पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ। विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्ने, संविधान तथा कानुनी व्यवस्थाबारे जानकारी गराउने र उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत कार्तिक ९ गतेदेखि पर्सामा कार्यक्रम सुरु गरिएको हो।
अभियानको पहिलो दिन टिम पर्साले जिल्लाका चारवटा विद्यालयमा छवटा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेको छ। साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा, गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा एउटा, हिमालयन पिरामिड सेकेन्डरी स्कुलमा एउटा र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एउटा सत्र सञ्चालन गरिएको थियो। पहिलो दिनको कार्यक्रममा २५० भन्दा बढी विद्यार्थी सहभागी भई कानुनी सचेतना प्राप्त गरेको टिम पर्साका संयोजक रवि मिश्रले जानकारी दिएका छन्।
कार्यक्रममा टिम पर्साका स्रोत व्यक्तिहरू रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, अलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए।
अभियानको मुख्य उद्देश्य विद्यार्थीहरूलाई नेपालको संविधान, मौलिक हक, कानुनी प्रावधान तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी प्रदान गर्नु रहेको छ। यसका साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसमेत अभियानले लिएको छ।
कानुनी शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई दैनिक जीवनमा कानुनको महत्त्व बुझाउने र सचेत, जिम्मेवार तथा सक्षम नागरिक निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
पहिलो दिन विद्यार्थीहरूको उत्साहजनक सहभागिताबाट हौसिएको टिम पर्साले आगामी दिनमा जिल्लाका अन्य विद्यालयहरूमा समेत अभियानलाई निरन्तरता दिँदै विद्यार्थीमाझ कानुनी सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ।


तपाईको प्रतिक्रिया !