उखुको समर्थन मूल्य तोक्न ढिलाइ, किसान सस्तोमा बिक्री गर्न बाध्य

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार १९:२४ बजे

वीरगञ्ज । उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाइ गर्दा मधेस प्रदेशका उखु किसान मारमा परेका छन्। उखु क्रसिङ सिजन सुरु हुन लाग्दासमेत सरकारले मूल्य नतोकेपछि किसानले गत वर्षकै मूल्यमा सख्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका हुन्।

हिन्दुहरूको महान् पर्व छठ नजिकिँदै जाँदा पूजामा प्रयोग हुने सख्खरको माग बजारमा बढेको छ। माग बढेसँगै खाडसारी उद्योगहरूले उखु पेल्न सुरु गरेका छन्। तर, सख्खरको बजार मूल्य बढे पनि किसानले बिक्री गर्ने उखुको मूल्य भने बढ्न नसकेको गुनासो छ।

उखु उत्पादक संघका अध्यक्ष अशोक यादवका अनुसार सरकारले समयमै समर्थन मूल्य निर्धारण नगर्दा किसान उद्योग सञ्चालकले तोकेको मूल्यमा उखु बेच्न बाध्य छन्। गत वर्षको तुलनामा यस वर्ष उखु खेतीको लागत झन्डै दोब्बरले बढेको उहाँले बताउनुभयो।

इन्धनको मूल्य डेढ गुणासम्म बढेको, मलखादको मूल्य दोब्बर भएको र खेत जोताइको खर्चसमेत बढेको किसानहरूको भनाइ छ। यसबाहेक उखुको बीउ, सिँचाइ, मजदुरको ज्याला र चिनी उद्योगसम्म ढुवानी गर्ने खर्च पनि बढेको छ। उत्पादन लागतमा भएको वृद्धिलाई ध्यानमा राख्दै यस वर्ष उखुको मूल्य गत वर्षको तुलनामा दोब्बर हुनुपर्ने किसान प्रतिनिधिहरूको माग छ।

उखुको मूल्य निर्धारणका लागि सरकारी टोलीले अध्ययन गरेर फर्किसकेको भए पनि क्रसिङ सिजन सुरु हुने समयसम्म निर्णय हुन नसकेको उखु किसान अगुवा कामेश्वर सहनीले बताउनुभयो। किसानको उत्पादन लागत तथा चिनी र सख्खरको बजार मूल्यलाई आधार बनाएर समर्थन मूल्य तोक्ने भनिए पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको उहाँको भनाइ छ।

छठ पर्वका कारण सख्खरको माग बढिरहेको अवस्थामा पनि उखु किसानले उचित मूल्य पाउन सकेका छैनन्। गढीमाई नगरपालिका–४, पर्साका किसान राजन ठाकुरका अनुसार बजारमा सख्खरको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ। तर, त्यसको लाभ उखु उत्पादक किसानसम्म पुग्न नसकेको उहाँले बताउनुभयो।

खेतमा उखु राखिरहँदा सुक्ने जोखिम हुने र उखु काटेर खेत खाली गरेपछि दलहन तथा तेलहन बाली लगाउन सहज हुने भएकाले किसानले बाध्य भएर सस्तो मूल्यमा बिक्री गरिरहेको ठाकुरले बताउनुभयो।

अर्का किसान सन्तोष पटेलले खेतमा उखु सुक्न थालेको र उद्योग नियमित सञ्चालन हुने सुनिश्चितता नभएको भन्दै खुटी उखु प्रतिक्विन्टल ५०० रुपैयाँका दरले सख्खर उद्योगलाई बिक्री गर्नुपरेको बताउनुभयो। समयमै उखु बिक्री नगर्दा थप क्षति हुने जोखिमले किसानलाई न्यून मूल्य स्वीकार गर्न बाध्य बनाएको उहाँको भनाइ छ।

गढीमाई नगरपालिकाका सख्खर उद्योग सञ्चालक शिवमंगल दासले छठ पर्वका कारण सख्खरको माग बढेको र सरकारले उखुको मूल्य निर्धारण नगरेका कारण सुरुवाती चरणमा गत वर्षकै मूल्यमा उखु खरिद गरिरहेको बताउनुभयो।

उत्पादन लागत बढ्दै गएको अवस्थामा समर्थन मूल्य निर्धारणमा भएको ढिलाइले किसान र उद्योगबीच मूल्यको असन्तुलन देखिएको छ। किसानले लागतअनुसारको मूल्य नपाउँदा उखु खेतीबाट उचित आम्दानी लिन कठिन भइरहेको छ।

समयमै समर्थन मूल्य निर्धारण नभए उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था आउन सक्ने भन्दै किसानहरूले सरकारसँग तत्काल मूल्य तोक्न माग गरेका छन्। छठ पर्वका लागि सख्खरको माग बढेको अवसरमा किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्