सप्तरी । सप्तरीको सुरुंगा नगरपालिका–९, टिकुलियामा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।
प्रहरीमा परेको जाहेरीअनुसार सिरहा घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन्। गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जनका लागि गाउँबाट पश्चिमतर्फ रहेको बलान नदी पुगेकी उनी मूर्ति विसर्जनपछि ट्र्याक्टरमा फर्किंदै थिइन्।
बाटोमा ट्र्याक्टरको डिजेल सकिएपछि रोकिएको थियो। त्यसपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा घटना भएको जाहेरीमा उल्लेख छ।
प्रहरीका अनुसार बाटो छेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर मुख थुन्दै नजिकैको आँपको बगैँचामा लगेको र जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि उनीहरूले महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्।
अबेरसम्म घर नपुगेपछि आफन्त र स्थानीयवासीले उनको खोजी गरेका थिए। खोजीका क्रममा उनलाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोप लागेका तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


तपाईको प्रतिक्रिया !