पर्सामा नक्कली घुमुवा बनेर रकम असुली गरेको आरोपमा पोखरिया–५ का अशोककुमार वर्णवाल पक्राउ

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार १०:१४ बजे

जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुल गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनले आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको तथा सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली र चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिने गरेका थिए।

प्रहरीका अनुसार सामान पास गराउन रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै रकम असुल्ने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

वर्णवाललाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

त्यस्तै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्