पोखरियाका टावरलाइट ६ महिनादेखि बन्द, चाडपर्वमा सुरक्षा चुनौती

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार १०:५८ बजे

पोखरिया । पर्साको पोखरिया नगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका टावरलाइट ६ महिनाभन्दा बढी समयदेखि बन्द रहे पनि मर्मत हुन सकेका छैनन्। रातिको समयमा सडक, बजार तथा गाउँबस्ती अन्धकारमय हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै सुरक्षाको चिन्तासमेत बढेको छ।

पोखरिया नगरपालिका–४ को गाउँ, बसपार्क, श्री जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय अगाडि, पोखरिया अस्पताल तथा वडा नं. ३ को बसन्तपुरस्थित छठघाटलगायतका स्थानमा जडान गरिएका टावरलाइट लामो समयदेखि बन्द अवस्थामा छन्।

सार्वजनिक स्थानमा उज्यालोको व्यवस्था गर्ने उद्देश्यले जडान गरिएका बत्ती बिग्रिएर बन्द हुँदा पनि सम्बन्धित निकायले मर्मतमा चासो नदेखाएको स्थानीयवासीको गुनासो छ।

हालै सम्पन्न बडादसैँका अवसरमा समेत टावरलाइट नबल्दा मन्दिरमा पूजाआजा गर्न जाने भक्तजन अँध्यारो बाटो हुँदै आवतजावत गर्न बाध्य भएका थिए। रातिको समयमा सडक तथा सार्वजनिक स्थान अँध्यारो हुँदा चोरीका घटना हुने गरेको र स्थानीयको सुरक्षामा समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ।

सार्वजनिक स्थानमा जडान गरिएका बत्तीको नियमित अनुगमन र मर्मतसम्भार गर्नुपर्ने भए पनि महिनौँसम्म बन्द रहनुले नगरपालिकाको व्यवस्थापनमाथि प्रश्न उठेको छ। विशेषगरी चाडपर्वका बेला भक्तजन तथा सर्वसाधारणको आवागमन बढ्ने भएकाले सडक र सार्वजनिक स्थानमा पर्याप्त प्रकाशको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।

नजिकिँदै गरेको दीपावली तथा छठ पर्वलाई ध्यानमा राख्दै स्थानीयवासीले बिग्रिएका टावरलाइट तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पोखरिया नगरपालिकासँग आग्रह गरेका छन्।

चाडपर्वका समयमा सम्भावित दुर्घटना तथा चोरीका घटना न्यूनीकरण गर्न र सर्वसाधारणलाई सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण बनाउन नगरपालिकाले समयमै ध्यान दिनुपर्ने स्थानीयको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्