वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित कैलाश होटलमा आर्थिक लेनदेनको विषयलाई लिएर भएको कुटपिट प्रकरणमा रियल स्टीलका एचआर म्यानेजर दीपक तिवारी पक्राउ परेका छन्। घटनाको मुख्य विवादमा जोडिएका सन्दीप तुल्स्यान भने सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।
गत शुक्रबार राति होटलमा अङ्कित जालान, उनका साथी गौरव खेतान तथा सन्दीप तुल्स्यान पक्षका व्यक्तिहरूबीच पुरानो आर्थिक लेनदेनको विषयलाई लिएर विवाद भएको थियो। विवादले उग्र रूप लिएपछि जालानमाथि कुटपिट भएको आरोप छ।
प्राप्त विवरणअनुसार, बगहीस्थित रियल स्टीलबाट सामान खरिद गरेबापत जालानले करिब ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको तुल्स्यान पक्षको दाबी छ। उक्त रकम पाँच वर्षदेखि नपाएको र असुलीका लागि पटकपटक छलफल तथा पञ्चायतीसमेत गरिएको उनीहरूको भनाइ छ।
प्रहरीका अनुसार विवादका क्रममा तिवारीसहितको समूहले जालानमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनापछि तिवारीले जालानलाई वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले दुवै पक्षबीच सहमति गराएर छाडेको बताइएको छ।
तर, शनिबार बिहान तिवारीलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएपछि घटनाले थप चर्चा पाएको हो। प्रहरीले होटलको सीसीटीभी फुटेजका आधारमा आफ्नै प्रतिवेदनबाट मुद्दा अघि बढाएको जनाएको छ।
यता, तुल्स्यान पक्षले भने आर्थिक विवादमा जालानलाई उन्मुक्ति दिइएको आरोप लगाउँदै आफूहरूमाथि अन्याय भएको दाबी गरेको छ। उनीहरूका अनुसार, रकम फिर्ता गराउने विषयमा जालानले प्रहरीमा अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधसम्बन्धी आरोप लगाएका छन्।
प्रहरीले छलफलका लागि बोलाउँदा तुल्स्यान सम्पर्कमा नआएको जनाएको छ। घटनामा आर्थिक लेनदेनको विवाद, कुटपिटको आरोप र प्रहरी कारबाही जोडिएकाले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।


तपाईको प्रतिक्रिया !