मुम्बई। भारतमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको शैलीमा आतंक फैलाइरहेको आरोप लाग्दै आएको लरेन्स बिश्नोई समूहको निशानामा बलिउडका चर्चित अभिनेता परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सलमान खानपछि आमिर खान र टाइगर श्राफलाई समेत लक्षित गरिएको दाबी सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, बन्दुकधारीहरूले अभिनेता आमिर खानको बान्द्रास्थित पुरानो निवासको रेकी गरेका थिए। तर, त्यहाँ आमिर खान फेला नपरेपछि उनीहरू आफ्नो योजनामा अघि बढ्न नसकेको बताइएको छ।
समाचार विवरणअनुसार, विवाहपछि आमिर बान्द्राबाट दक्षिण मुम्बई सरेका थिए। बन्दुकधारीहरूलाई उनको नयाँ ठेगानाबारे जानकारी नभएकाले उनीहरू पुरानै निवासमा पुगेको बताइएको छ। आमिरलाई फेला पार्न नसकेपछि उनलाई निशाना बनाउने योजना त्यागिएको र त्यसपछि टाइगर श्राफलाई लक्षित गरिएको दाबी गरिएको छ।
स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार, टाइगर श्राफको गतिविधिबारे जानकारी सङ्कलन गरिएको थियो। उनी मुम्बईको जुहु क्षेत्रमा फुटबल खेल्न जाने गरेको जानकारी पाएपछि सेल्फी खिच्ने बहानामा उनको गाडीनजिक पुगेर आक्रमण गर्ने योजना बनाइएको बताइएको छ।
गत अक्टोबर १८ को साँझ जुहु क्षेत्रमा फुटबल खेलेर फर्किने क्रममा टाइगर श्राफ सवार गाडीमा मोटरसाइकलमा आएका तीन जनाले अन्धाधुन्ध गोली प्रहार गरेको समाचारमा उल्लेख छ। घटनामा टाइगर सकुशल रहे पनि उनका चालक घाइते भएका थिए।
उक्त घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहका अनिल पण्डितले लिएको दाबीसमेत सार्वजनिक भएको छ। घटनामा संलग्न व्यक्तिहरू, आक्रमणको उद्देश्य र सम्भावित योजनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
बलिउड कलाकारलाई लक्षित गरी धम्की दिने तथा आक्रमणका घटना सार्वजनिक हुन थालेपछि भारतीय चलचित्र क्षेत्रका कलाकारको सुरक्षा विषय पुनः चर्चामा आएको छ। यद्यपि, आमिर खानलाई लक्षित गर्ने कथित योजनालगायतका विवरणको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले घटनासम्बन्धी दाबीलाई अनुसन्धानको निष्कर्षसँगै हेर्नुपर्ने हुन्छ।


तपाईको प्रतिक्रिया !