जेरुसेलम, ७ कात्तिक । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि कार्यक्रम चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको ग्रिक अर्थोडक्स चर्चमा गोलीकाण्ड भएको हो।
सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई जना बन्दुकधारी चर्चतर्फ अघि बढेर गोली चलाएको देखिएको छ। त्यसपछि अर्धस्वचालित राइफल बोकेको जस्तो देखिने अर्को व्यक्ति पनि त्यहाँ पुगेर गोली चलाएको दृश्यमा देखिन्छ।
प्रत्यक्षदर्शीले खिचेको भिडियोमा चर्चको भुइँमा फुटेका सिसाका टुक्रा र रगत देखिएको छ। अन्त्येष्टि कार्यक्रममा सहभागी डोरघम हलासाका अनुसार कार्यक्रम सुरु भएको करिब १५ मिनेटपछि गोलीबारी भएको थियो। गोली चल्न थालेपछि मानिसहरू ज्यान जोगाउन यताउता भागेको उहाँले बताउनुभयो।
सरकारी विज्ञप्तिमा आक्रमण अज्ञात व्यक्तिहरूले गरेको उल्लेख छ। यद्यपि, आक्रमणकारीको सङ्ख्या, उनीहरूको अवस्थाबारे वा पक्राउ परे–नपरेको विषयमा अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन्। घटनाको अनुसन्धान तीव्र पारिएको जनाइएको छ।
जोर्डनको पेट्रा समाचार एजेन्सीका अनुसार सरकारले घटनापछि तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ। काराक सहरमा अल्पसङ्ख्यक इसाई समुदायको बसोबास छ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाको निन्दा गर्दै दोषीलाई कडा सजाय दिइने बताउनुभएको छ। प्रधानमन्त्री जाफर हसनले पनि आक्रमणलाई आतङ्कवादी विचारधारा र अतिवादको परिणाम भन्दै दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
घटनाको लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशले निन्दा गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई जघन्य घटना भन्दै जिम्मेवार व्यक्तिहरूको पहिचान गरी जवाफदेही बनाउन आह्वान गर्नुभएको छ।
यसअघि सन् २०१६ मा पनि काराकमा बन्दुकधारीहरूले प्रहरी र पर्यटकलाई लक्षित गरी आक्रमण गरेका थिए। उक्त घटनामा सात प्रहरीसहित १० जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।


तपाईको प्रतिक्रिया !