एके–४७ बाट हवाई फायर गरेपछि भिडियो भाइरल भारतका प्रहरी अधिकारीसँग स्पष्टीकरण माग

NEWS DESK
२०८३ कार्तिक ८, शनिबार ०८:४३ बजे

एजेन्सी । भारतको छत्तिसगढ राज्यस्थित राजनान्दगाउँकी प्रहरी प्रमुख अङ्किता शर्माले विजयादशमीका अवसरमा एके–४७ राइफलबाट हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी मुख्यालयले उनीसँग स्पष्टीकरण मागेको छ।

सादा पोसाकमा स्वचालित हतियार चलाइरहेको शर्माको भिडियो सार्वजनिक भएपछि प्रहरी सङ्गठनको अनुशासन र सुरक्षा मापदण्डको पालना सम्बन्धमा प्रश्न उठेका छन्। यसबारे बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ।

दुर्ग रेन्जका प्रहरी महानिरीक्षक (आईजी) अजय यादवका अनुसार भिडियो सार्वजनिक भएपछि आएका नकारात्मक टिप्पणीले प्रहरी सङ्गठनको गरिमा र मर्यादामाथि प्रश्न उठाएका छन्। सुरक्षा मापदण्डको पालना भए–नभएको विषयमा चासो बढेपछि प्रहरी मुख्यालयले शर्मासँग आधिकारिक स्पष्टीकरण मागेको उनले बताएका छन्।

यादवका अनुसार घटनाबारे टिप्पणीसहितको प्रतिवेदन प्रहरी मुख्यालयमा पठाइनेछ। त्यसपछि मुख्यालयबाट प्राप्त निर्देशनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

छत्तिसगढमा विजयादशमीका अवसरमा प्रहरी कार्यालयहरूमा हतियारको पूजा गर्ने परम्परा छ। यस वर्ष पनि विभिन्न जिल्लाका प्रहरी अधिकारीहरूले शस्त्र पूजाका क्रममा हवाई फायर गरेका भिडियो सार्वजनिक भएका थिए।

यद्यपि, प्रहरी प्रमुख शर्मा सादा पोसाकमा एके–४७ चलाएको दृश्य सार्वजनिक भएपछि यो घटनाले विशेष चर्चा पाएको हो। घटनापछि प्रहरी सङ्गठनभित्र हतियार प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, अनुशासन र जिम्मेवारीका विषयमा बहस सुरु भएको छ।

प्रहरी सङ्गठनमा शस्त्र पूजाको परम्परा रहे पनि हतियार प्रयोग गर्दा निर्धारित सुरक्षा मापदण्डको पालना अनिवार्य मानिन्छ। शर्मासँग स्पष्टीकरण मागिएसँगै घटनाबारे प्रहरी मुख्यालयले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्