सिरहा । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, घटनामा संलग्न रहेको आरोपमा खोजी भइरहेका अनवरलाई आइतबार राति गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार, अनवरविरुद्ध जाहेरी परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको खोजी भइरहेको थियो। पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्राप्त विवरणअनुसार, सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ गते अर्को घटना भएको थियो। गोलबजारमा भएको घटनाका क्रममा दंगा भड्काउने, तोडफोड गर्ने तथा आगजनी गराउने गतिविधिमा अनवरको भूमिका रहेको आरोप लगाइएको छ।
‘हिन्दु सम्राट सेना’ नामक संस्थाले अनवरविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनवरको खोजी गरिरहेको थियो। उनी लामो समयसम्म प्रहरीको सम्पर्कमा नआएपछि खोजतलासलाई निरन्तरता दिइएको थियो।
पक्राउ परेका वडाध्यक्ष अनवरमाथि लागेका आरोप पुष्टि भइसकेका छैनन्। घटनामा उनको वास्तविक संलग्नता र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


तपाईको प्रतिक्रिया !