वीरगञ्ज । दीपावली तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले पर्सा प्रहरी सुरक्षा व्यवस्थापनमा सक्रिय देखिएको छ। चाडपर्वका बेला हुन सक्ने झैझगडा, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै पटाका पड्काउने र भारतीय सीमाबाट प्रतिबन्धित तथा अवैध वस्तुको ओसारपसार रोक्न प्रहरीले निगरानी, चेकजाँच र गाउँगाउँमा गस्ती तीव्र पारेको छ। प्रहरीले सर्वसाधारणलाई पटाका नपड्काउन तथा चाडपर्व मर्यादित रूपमा मनाउन आग्रहसमेत गरिरहेको छ।
तर, सुरक्षा निकायको ध्यान चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनमा केन्द्रित भइरहेका बेला पर्साका ग्रामीण सीमावर्ती क्षेत्रलाई प्रयोग गरी लागुऔषध गाँजाको तस्करी गर्ने समूह भने सक्रिय बनेको पाइएको छ। जिल्लाका ग्रामीण भेग गाँजा भण्डारण र भारततर्फ ओसारपसार गर्ने ट्रान्जिट क्षेत्रका रूपमा प्रयोग हुन थालेको स्थानीय स्रोतहरूको दाबी छ।
प्राप्त सूचनाअनुसार मकवानपुरको मनहरी, लोथर तथा धादिङका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा ट्रक, पिकअप र चारपाङ्ग्रे सवारीसाधनमार्फत पर्साका ग्रामीण क्षेत्रमा भित्र्याउने गरिएको छ। साँझ पर्न थालेपछि विशेषगरी साँझ ६ बजेदेखि राति ९ बजेसम्मको समयमा गाँजा बोकेका सवारीसाधन ग्रामीण बस्तीका गोठघर, उखुबारी, बाँसघारी, सरेह तथा झाडी र धानखेत आसपासका सुनसान स्थानमा पुग्ने गरेको बताइन्छ।
स्रोतका अनुसार गाँजा बोकेका सवारीसाधनले निर्धारित स्थानमा पुगेर पाँच मिनेटभित्रै गाँजाको खेप झार्ने र तत्काल फर्किने गरेका छन्। तस्करीमा संलग्न सवारीसाधनलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन अगाडि र पछाडि मोटरसाइकलबाट निगरानी तथा स्कर्टिङ गर्ने गरिएको समेत स्रोतको दाबी छ। यसरी लुकाएर राखिएको गाँजा अनुकूल समय मिलाएर भारततर्फ पठाउने गरिएको बताइएको छ।
नेपालमा गाँजाको अवैध उत्पादन, ओसारपसार तथा कारोबार प्रतिबन्धित भए पनि पहाडी जिल्लाबाट पर्साका ग्रामीण क्षेत्र हुँदै भारततर्फ हुने तस्करीको क्रम नियन्त्रणमा आउन सकेको छैन। पर्साको ग्रामीण सीमावर्ती क्षेत्रलाई गाँजा तस्करीका लागि प्रमुख ट्रान्जिटका रूपमा प्रयोग गरिँदै आएको घटनाक्रमले देखाउँछ।
यसको पछिल्लो उदाहरण धनतेरसकै दिन भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको भेलाही थाना क्षेत्रमा भएको गाँजा बरामदगी हो। नेपाल–भारत सीमावर्ती भारतीय क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले १३१ किलो लागुऔषध गाँजा बरामद गरेको थियो।
प्राप्त जानकारीअनुसार नेपालतर्फबाट धोरे सीमा नाका हुँदै भारततर्फ ठूलो परिमाणमा गाँजा भित्र्याउन लागिएको गोप्य सूचना भारतीय प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा भेलाही थाना प्रहरी र एसएसबीको ४७औँ बटालियनको संयुक्त टोलीले सम्बन्धित क्षेत्रमा निगरानी तथा खोजतलास अभियान सञ्चालन गरेको थियो।
संयुक्त सुरक्षा टोलीले छापामारी गर्दा १३१ किलो गाँजा बरामद भएको जनाइएको छ। उक्त कारबाहीमा भेलाही थानाका थानाध्यक्ष गौरव कुमार, अपर थानाध्यक्ष मुन्ना कुमार तथा एसएसबीका उपनिरीक्षक गणेश सिंह रावतसहित सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
गाँजा बरामद भएपछि भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान, गाँजाको स्रोत तथा नेपालबाट भारतसम्म फैलिएको सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान भइरहेको जनाइएको छ।
एकातिर चाडपर्वलाई सुरक्षित बनाउन पर्सा प्रहरी गाउँगाउँमा गस्ती र सीमावर्ती क्षेत्रमा चेकजाँच गरिरहेको छ भने अर्कोतर्फ त्यही ग्रामीण सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजाको ओसारपसार भइरहेको आरोपले सुरक्षा निगरानीमाथि प्रश्न उठाएको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थासँगै गाँजा भण्डारण हुने सम्भावित स्थान, ग्रामीण नाका तथा तस्करीमा प्रयोग हुने सवारीसाधनमाथि विशेष निगरानी बढाउनुपर्ने देखिएको छ।


तपाईको प्रतिक्रिया !