पर्सामा तत्मा (तत्वा) समुदायका ५६ जना विद्यार्थी तथा राष्ट्रसेवक कर्मचारी सम्मानित

न्यूज डेस्क
२०८३ कार्तिक २५, बुधवार २१:१८ बजे

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा तत्मा (तत्वा) समुदायबाट शैक्षिक सत्र २०८२ मा माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा १२, स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी र नवनियुक्त राष्ट्रसेवक कर्मचारी गरी ५६ जनालाई सम्मान गरिएको छ।

राष्ट्रसेवक कर्मचारी तत्मा (तत्वा) समूह पर्साको आयोजनामा बुधबार पोखरिया नगरपालिका–४ स्थित शिवमन्दिरको सभाहलमा आयोजित सम्मान कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो।

सम्मानित हुनेमा एसईई उत्तीर्ण २७ जना, कक्षा १२ उत्तीर्ण २१ जना, स्नातक तह उत्तीर्ण एक जना तथा नवनियुक्त राष्ट्रसेवक कर्मचारी सात जना गरी कुल ५६ जना रहेका छन्।

कार्यक्रमको अध्यक्षता केसवलाल दास तत्वाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अमिताभ वचन दास तत्वाको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्राध्यापक पारस दास तत्वा र रामबाबु दास तत्वा सहभागी थिए।

कार्यक्रमको उद्घोषण गणेश दास तत्वाले गरेका थिए।

समुदायका विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि प्रोत्साहन गर्नुका साथै सरकारी सेवामा प्रवेश गरेका नयाँ पुस्तालाई सम्मान गर्दै आगामी दिनमा शिक्षा र राष्ट्रसेवाप्रति थप प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

समुदायभित्र शैक्षिक जागरण, प्रतिभाको पहिचान तथा नयाँ पुस्तालाई उच्च शिक्षा हासिल गर्न र राष्ट्रसेवामा आकर्षित गर्न यस्ता सम्मान कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्