२० सदस्यीय टोलीसहित रास्वपा महामन्त्री आचार्य चीन भ्रमणमा जाँदै

NEWS DESK
२०८३ कार्तिक २६, बिहिवार १९:१२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान तथा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।

भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायतका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मीलगायत २० जना रहेका छन् ।

रास्वपाले यस भ्रमणबाट दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार हुनुका साथै राजनीतिक अनुभव आदानप्रदान र विकासका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिचान हुने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्