रौतहट । भारतको उत्तर प्रदेशस्थित कासगञ्जमा दीपावलीका अवसरमा पटाका पड्काउने क्रममा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कासगञ्जको सोरों क्षेत्रअन्तर्गत सिरावली निवासी २३ वर्षीय प्रवेश कुमारले स्टिलको गिलासभित्र पटाका राखेर पड्काउने प्रयास गरेका थिए। पटाका विस्फोट हुँदा गिलास चकनाचुर भई त्यसको एउटा टुक्रा उनको पेटमा लागेको थियो।
गिलासको टुक्रा पेटमा पसेपछि प्रवेश गम्भीर घाइते भएका थिए। घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए।
उक्त दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन्। उनीहरूको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन।
यसैबीच, मृतक प्रवेशका परिवारले उनको शवको पोस्टमार्टम गराउन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दीपावलीका अवसरमा पटाका पड्काउने क्रममा अपनाइएको असावधानीका कारण भएको यस दुःखद घटनाले आतिशबाजी गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


तपाईको प्रतिक्रिया !