भीमफेदी माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु

NEWS DESK
२०८३ कार्तिक २६, बिहिवार १८:२७ बजे

वीरगन्ज, २६ कात्तिक । मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ७०० मिटर तल खसेको हो ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार माइक्रोबसमा चालकसहित २० जना सवार थिए ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम रायसहित उनको परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय रामदुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको छ । अन्य तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्