रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ स्थित कञ्चनबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा स्याङ्जाको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
यसअघि पनि प्रहरीले यस्तै आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।
उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पछिल्लो घटनासँगै रुपन्देहीमा यस प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ ।


तपाईको प्रतिक्रिया !