बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चियापान कार्यक्रमका क्रममा पार्टीभित्रकै दुई पक्षबीच झडप हुँदा करिब एक दर्जन जना घाइते भएका छन् ।
घाइतेमध्ये सात जनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्राप्त जानकारीअनुसार रास्वपाभित्र अस्लम देवान र सुवास मन्सुरी पक्षबीच देखिएको विवादले उग्र रूप लिएपछि कार्यक्रमस्थलमै झडप भएको हो । झडपपछि वीरगञ्ज हेल्थ केयर अस्पताल परिसरमा समेत दुवै पक्षबीच कुटपिट भएको बताइएको छ ।
घटनाका क्रममा प्रहरीमाथि समेत हातपात भएको जानकारी प्राप्त भएको छ । कार्यक्रमस्थलमा विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
कार्यक्रममा सांसद रहबर अन्सारीसमेत उपस्थित थिए । दुई पक्षबीच विवाद चर्किएर झडपको अवस्था सिर्जना भएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ ।
घटनापछि थप झडप हुन नदिन तथा शान्ति सुरक्षा कायम गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपको वास्तविक कारण, घाइतेको यकिन संख्या तथा घटनामा संलग्न व्यक्तिबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ ।


तपाईको प्रतिक्रिया !