पूर्वमन्त्री यादवको पहलमा ३५० महिलालाई छठ सामग्री वितरण

NEWS DESK
२०८३ कार्तिक २६, बिहिवार १८:२९ बजे

वीरगन्ज, २६ कात्तिक । वीरगन्ज महानगरपालिका–२२ मनियारीमा छठ पर्व मनाउने ३५० जना विपन्न महिलालाई नयाँ साडी र गहुँको पीठो वितरण गरिएको छ ।

पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेलफेयर सोसाइटीले बिहीबार छठ पर्वको व्रत गर्ने आर्थिक रूपमा विपन्न दलित तथा अन्य समुदायका महिलालाई साडी र पीठो वितरण गरेको हो ।

सोसाइटीका अध्यक्ष सुरेश रुंगटाका अनुसार ३५० जना महिलालाई जनही एक थान नयाँ साडी र छठ पूजाको प्रसाद बनाउन दुई–दुई किलो गहुँको पीठो प्रदान गरिएको छ ।

छठ पर्व धार्मिक आस्थासँगै मानवीय सहयोग र सहानुभूतिको पर्व पनि भएको उल्लेख गर्दै अध्यक्ष रुंगटाले आर्थिक रूपमा कमजोर समुदायका महिलासँग पर्वको खुसी बाँड्न पाउनु संस्थाका लागि गर्वको विषय भएको बताए ।

रुंगटाका अनुसार सोसाइटीले समाजका विपन्न, असहाय तथा सहयोग आवश्यक परेका व्यक्तिलाई लक्षित गरी विभिन्न मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने उनले बताए ।

यसअघि गत मंगलबार पनि सोसाइटीले वीरगन्ज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई छठ पर्व मनाउन जनही एक थान साडी वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्