वीरगन्ज, २६ कात्तिक । वीरगन्ज–४ वीर्तास्थित वीरगन्ज कारागारबाट जबरजस्ती करणी कसुरमा कैद सजाय भोगिरहेका एक कैदी फरार भएका छन् ।
पर्साको पोखरिया नगरपालिका–४ घर भएका कैदी सुनिल साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनी विगत ११ वर्षदेखि जबरजस्ती करणी कसुरमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बिहीबार बिहान कारागारभित्र सरसफाइको काम भइरहेका बेला साह पर्खालबाट हाम फालेर फरार भएका थिए ।
फरार कैदीको खोजीका लागि प्रहरी परिचालन गरिएको मल्लले जानकारी दिए । तालिमप्राप्त कुकुरसहित प्रहरी टोलीले विभिन्न शंकास्पद स्थानमा पुगेर खोजी गरिरहेको उनले बताए ।
प्रहरीले फरार कैदीको खोजी कार्य तीव्र पारेको जनाएको छ ।


तपाईको प्रतिक्रिया !