मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

NEWS DESK
२०८३ कार्तिक २५, बुधवार १७:५४ बजे

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनले शनिबार दिउँसो १ बजे विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गर्ने तयारी गरेका हुन्।

सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। सरकारको निरन्तरता सुनिश्चित गर्न मुख्यमन्त्री यादवले विभिन्न दलका सांसदसँग समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

यसअघि नेकपा एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक–एक सांसद रहेका छन्।

दुई दलले समर्थन फिर्ता लिएपछि अल्पमतको चुनौती सामना गरिरहेका मुख्यमन्त्री यादवका लागि विश्वासको मत प्राप्त गर्नु राजनीतिक रूपमा महत्वपूर्ण बनेको छ। कात्तिक २८ गते हुने मतदानले वर्तमान सरकारको निरन्तरता रहने वा नयाँ राजनीतिक समीकरण निर्माण हुने भन्ने विषयको टुंगो लगाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्