धनुषा, ८ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा निर्माण हुने क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन्।
आइतबार प्रस्तावित निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्। आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ छ।
मन्त्री मेहताले ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेकाले आयोजना निर्माण हुनेमा आशङ्का नगर्न आग्रह गरिन्। निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै उनले छिट्टै शिलान्यास हुने विश्वाससमेत व्यक्त गरिन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले ट्रमा सेन्टर निर्माणको आश्वासन लामो समयदेखि पाउँदै आएका स्थानीयवासी अब निर्माण कार्य सुरु भएको हेर्न चाहेको बताए। उनले भवन निर्माण सुरु भएपछि मात्रै स्थानीयमा विश्वास जाग्ने उल्लेख गर्दै शिलान्यास प्रक्रिया शीघ्र अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए।
निरीक्षणका क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया !