काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे फ्लडलाइटको उज्यालोमा सुरु हुनेछ।
यस सिजनको एनपीएलमा पोखरा एभेन्जर्सले आज पहिलो खेल खेल्दैछ। गत संस्करणमा ६ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको पोखरा यसपटक पहिलो खेलमै जित निकालेर प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
यता, लगातार अघिल्ला दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स भने पहिलो खेलको हारपछि पुनरागमन गर्ने योजनामा छ। गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिम आज जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउने प्रयासमा हुनेछ।
पहिलो खेलमा पराजय बेहोरेपछि सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण बनेको छ। टोलीले अघिल्ला कमजोरी सुधार गर्दै जितको लय समात्ने लक्ष्य राखेको छ।
अर्कोतर्फ, पहिलो खेल खेल्न लागेको पोखराले पनि जितसहित प्रतियोगितामा आफ्नो अभियान सुरु गर्न चाहन्छ। दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको आजको खेलमा प्रतिस्पर्धात्मक क्रिकेट हेर्न पाइने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !