एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार ०८:४६ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको दोस्रो दिन दिउँसो चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे चितवन राइनोज र विराटनगर किङ्सबीचको खेल सुरु हुनेछ। यस्तै, दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। पहिलो दिन एक खेल मात्र भएकोमा दोस्रो दिन दुई खेल हुन लागेका हुन्।

चितवन र विराटनगरबीच प्रतिस्पर्धा

मंगलबारको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्सको सामना गर्नेछ।

विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायतका खेलाडी छन्। विदेशी खेलाडीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतिक श्रेष्ठ र शुभम रन्जाने पनि टोलीमा समावेश छन्।

यता चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा र विवेक यादव छन्। विदेशी खेलाडीका रूपमा रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली र उसामा मीरलगायत रहेका छन्।

दुवै टोलीका खेलाडीको प्रदर्शनले पहिलो खेलको नतिजामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जनकपुर र कर्णाली साँझ भिड्ने

मंगलबारको दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दास, रित गौतम र सन्तोष कार्कीलगायतका खेलाडी छन्। विदेशी खेलाडीमा जिमी निशम, मोइन अली र इफ्तिखार अहमद पनि समावेश छन्।

त्यस्तै, कर्णाली याक्सको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायतका खेलाडी छन्।

दुवै खेलमा टोलीहरूले प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन्।

सोमबारबाट सुरु भएको एनपीएलको फाइनल खेल मङ्सिर ५ गते आयोजना हुने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्