जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीसँगको छलफल तीव्र पारेको छ। तीनै दलबीच गठबन्धन बनाएर नयाँ सरकार गठन गर्ने विषयमा सकारात्मक संवाद भइरहेको नेताहरूले बताएका छन्।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र सरकारको कामबाट जनताले अपेक्षित अनुभूति गर्न नसकेको भन्दै समर्थन फिर्ता लिएको बताए। कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिनुपरेको उनको भनाइ छ।
यादवका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच केन्द्रमा नयाँ सरकार गठनबारे प्रारम्भिक छलफल भइसकेको छ। प्रदेश तहमा पनि जसपा नेपाल र जनमत पार्टीसँग संवाद भइरहेको उनले बताए। चाडपर्वपछि तीनै दलबीच सहमति जुटाउने गरी छलफल अघि बढाइने उनको भनाइ छ।
जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि एमाले, जसपा नेपाल र जनमत पार्टी मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको उल्लेख गर्दै उनले केही दिनभित्र निर्णयमा पुग्ने दाबी गरे। प्रदेशसभामा आफ्नो दल सबैभन्दा ठूलो भएकाले नयाँ सरकारको नेतृत्व जसपाले गर्नुपर्ने उनको भनाइ छ।
नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने औपचारिक सहमति भइसकेको छैन। नेताहरूले छलफल सकारात्मक भए पनि अन्तिम निर्णय नहुँदासम्म गठबन्धनको सम्भावनालाई निश्चित रूपमा लिन नसकिने बताएका छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्ने सम्भावनालाई ध्यानमा राखेर दलहरूले गृहकार्य गरिरहेका छन्।
एमाले बाहिरिएपछि सरकार अल्पमतमा
गत असोज ३० गते एमाले तीनदलीय गठबन्धनबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ। यद्यपि, नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
सांसद संख्याका आधारमा एमाले, जसपा नेपाल र जनमत पार्टीबीच गठबन्धन बनेमा उनीहरूको कुल संख्या ६२ पुग्छ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो। तर, तीनै दलबीच औपचारिक सहमति र सरकारको नेतृत्वबारे टुंगो लाग्न बाँकी छ।


तपाईको प्रतिक्रिया !