सप्तरी, ८ कात्तिक । मधेसमा मृत्यु भएपछि मृतकका परिवारले भोज गर्नुपर्ने सामाजिक परम्परा पछिल्लो समय विकृत बन्दै गएको छ। आफन्त गुमाएको पीडामा रहेका परिवारमाथि क्रियाकर्मसँगै मृत्यु भोजको खर्च जुटाउनुपर्ने दबाब बढ्दा कतिपय परिवार ऋणको बोझमा वर्षौँसम्म थिचिन बाध्य छन्।
घरमा कसैको मृत्यु भएपछि परम्पराअनुसार क्रियाकर्म गर्ने र भोजको तयारीमा जुट्नुपर्ने बाध्यता अझै कायम छ। जात र समुदायअनुसार मृत्युपछि १३ दिनभित्र तीनदेखि पाँच पटकसम्म भोज गर्नुपर्ने चलन छ। कतिपयले सामाजिक प्रतिष्ठा, नाम र प्रतिस्पर्धाका लागि ठूलो भोज गर्ने गरेका छन्।
भोजलाई संस्कार र संस्कृतिको अभिन्न अङ्ग मान्ने सामाजिक मान्यता रहे पनि ऋण लिएर बाध्यतामा भोज गर्नु संस्कृतिको नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादवले बताउनुभयो।
उहाँले मृत्यु भएपछि अनिवार्य रूपमा भोज गर्नुपर्ने प्रथालाई न्यूनीकरण मात्र नभई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। समाजले जबर्जस्ती लादेको परम्परा परिवर्तन गर्न सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ छ।
“भोज संस्कार र बाध्यताले होइन, स्वेच्छाले हुनुपर्छ,” उहाँले भन्नुभयो।
मधेसमा जनसङ्ख्याको ठूलो हिस्सा रहेको यादव समुदायमा २५ देखि ५० गाउँसम्मका मानिसलाई एकैपटक आमन्त्रण गरेर सभा भोज गर्ने चलनसमेत छ। यस्तो भोजमा हुने खर्चले आर्थिक रूपमा कमजोर परिवारलाई थप समस्यामा पार्ने गरेको छ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले मृत्यु भोजका नाममा हुने आडम्बरपूर्ण सभा भोजलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार यस्ता भोजलाई प्रोत्साहन गर्नुभन्दा सामाजिक चेतनामार्फत यसको विकृति हटाउन आवश्यक छ।
एउटा भोजमा ५० हजारसम्म स्वजातीय आफन्त सहभागी हुने गरेको पाइन्छ। भोजका नाममा खर्च हुने रकम विपन्न परिवारको जीविकोपार्जन, बालबालिकाको शिक्षा तथा आयआर्जनका क्षेत्रमा लगानी गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ छ।
तीन लाख ऋण लिएर भोज, अझै तिर्न सकिनन्
राजविराज नगरपालिका–१ की दुर्गादेवी रजक मृत्यु भोजका कारण ऋणको बोझमा परेको उदाहरण हुनुहुन्छ। सासूको निधन भएपछि आफूले भोज गर्न नसक्ने बताए पनि समाजले भोज गर्नैपर्ने दबाब दिएपछि उहाँले तीन लाख रुपैयाँ ऋण लिनुपरेको थियो।
ऋणको ब्याज जसोतसो तिरे पनि मूलधन अझै चुक्ता गर्न नसकेको उहाँको अवस्था छ। आफन्त गुमाएको दुःखसँगै सामाजिक दबाबका कारण आर्थिक समस्यासमेत भोग्नुपरेको उहाँको अनुभवले मृत्यु भोजको बाध्यकारी परम्पराले निम्त्याउने समस्या उजागर गर्छ।
दुर्गादेवीजस्ता मधेसका सयौँ परिवार मृत्यु भोज गर्न ऋण लिन र वर्षौँसम्म ऋणको भार बोक्न बाध्य रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो।
उहाँका अनुसार भोजका नाममा परिवारलाई ऋणको भारी बोकाउनु आवश्यक छैन। सामाजिक प्रतिष्ठाका लागि गरिने अनावश्यक खर्च रोक्न र आर्थिक अवस्थाअनुसार स्वेच्छाले संस्कार पूरा गर्ने वातावरण बनाउन जरुरी छ।
मृत्यु भोजको परम्परालाई परिवर्तन गर्न सामाजिक चेतना, सामूहिक प्रतिबद्धता र समुदायका अगुवाको सक्रियता आवश्यक देखिन्छ। आफन्त गुमाएका परिवारलाई भोज गर्न दबाब दिनुको सट्टा दुःखको घडीमा सहयोग गर्ने संस्कार विकास गर्न सके उनीहरूमाथिको आर्थिक बोझ कम गर्न सकिन्छ।
संस्कृति संरक्षणको अर्थ आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण लिन बाध्य पार्नु होइन। परम्पराका सकारात्मक पक्ष जोगाउँदै बाध्यकारी र खर्चिलो अभ्यास हटाउन सके मात्रै मधेसमा मृत्यु भोजलाई मानवीय सहयोग र सामाजिक सद्भावसँग जोड्न सकिनेछ।


तपाईको प्रतिक्रिया !