वीरगञ्ज, ९ कात्तिक । वीरगञ्जमा सांस्कृतिक कार्यक्रमका नाममा भोजपुरी भाषासँग जोडेर अश्लील गतिविधि प्रस्तुत गरिएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ। भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सक्रिय छ वटा संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न माग गरेका छन्।
ज्ञापनपत्रमार्फत संस्थाहरूले भोजपुरी भाषाको मौलिकता, सांस्कृतिक पहिचान र साहित्यिक विरासतको संरक्षण गर्दै सांस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्रमा भोजपुरी भाषा समृद्ध साहित्य, उत्कृष्ट गीत–सङ्गीत तथा विविध लोकपरम्पराले सम्पन्न रहेको उल्लेख गरिएको छ। निर्गुण, सामा, कजरी, चैतावरलगायत परम्परागत तथा मौसमी गीत, संस्कार गीत, लोकनृत्य र सोल्टी–बिजांभार, सतीबिहुला तथा आल्हा–उदलजस्ता लोकनाट्य परम्परा भोजपुरी संस्कृतिका महत्त्वपूर्ण सम्पत्ति रहेको संस्थाहरूले जनाएका छन्।
यस्तो समृद्ध सांस्कृतिक विरासत बोकेको भाषालाई अश्लील गतिविधिसँग जोडेर प्रस्तुत गर्नु भाषा र संस्कृतिमाथिको प्रहार भएको उनीहरूको ठहर छ।
वीरगञ्जमा पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रमका नाममा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संस्थाहरूले स्थानीय प्रशासनलाई यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्। भोजपुरी भाषालाई अश्लीलताको पर्यायका रूपमा प्रस्तुत गर्दा यसको मौलिकता, प्रतिष्ठा र सांस्कृतिक पहिचानमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिए विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ। भाषा र संस्कृतिको संरक्षणका लागि प्रशासन, स्थानीय तह तथा सम्बन्धित सङ्घसंस्थाले आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।
उक्त ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, अन्य स्थानीय तह तथा गैरसरकारी सङ्घसंस्थालाई समेत बोधार्थ दिइएको छ।
ज्ञापनपत्रमा नेपाल भोजपुरी समाज, भोजपुरी प्रतिष्ठान वीरगञ्ज, भोजपुरीया उडान, बृहस्पती फाउन्डेसन नेपाल, वीरगञ्ज कलाकार समाज र मधेस साहित्य महोत्सव आयोजक समितिको सहभागिता रहेको छ।
ती संस्थाहरूले भोजपुरी भाषाको मौलिकता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै कार्यक्रम आयोजकलाई जिम्मेवार बन्न तथा सांस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउन आग्रह गरेका छन्।


तपाईको प्रतिक्रिया !