एउटै परिवारका तीन दाजुभाइ, तीन सुरक्षा निकायमा उच्च जिम्मेवारी

NEWS DESK
२०८३ कार्तिक ९, सोमवार २०:३० बजे

काठमाडौं । एउटै परिवारका तीन दाजुभाइले नेपालका तीन फरक सुरक्षा निकायमा अधिकृत तहमा रहेर देश र जनताको सेवामा योगदान दिइरहेका छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा कार्यरत घिमिरे परिवारका तीन दाजुभाइको पेसागत यात्रा सुरक्षा सेवामा समर्पणको उदाहरण बनेको छ।

ललितपुरको लेले स्थायी घर भएका घिमिरे परिवारका जेठा दिलिप घिमिरे नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुन्। उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका रूपमा कार्यरत छन्। माहिला भाइ पवन घिमिरे नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल छन् भने कान्छा भाइ विकास घिमिरे सशस्त्र प्रहरी बलका एसएसपी हुन्। विकास हाल कुरिनटारस्थित सशस्त्र प्रहरी विपद् तालिम निर्देशनालयको प्रमुख छन्।

तीनै दाजुभाइ फरक–फरक सुरक्षा संगठनमा रहेर राज्यको सुरक्षा व्यवस्था, शान्ति सुरक्षा र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। उनीहरूको कार्यक्षेत्र फरक भए पनि देश र जनताको सेवामा समर्पित रहने उद्देश्य भने साझा छ।

दुई दाजुभाइले पाए उत्कृष्ट कार्यसम्पादनको सम्मान

घिमिरे परिवारको चर्चा तीन दाजुभाइ तीन सुरक्षा निकायमा कार्यरत रहेको संयोगमा मात्र सीमित छैन। नेपाल प्रहरीका एसएसपी दिलिप घिमिरे र सशस्त्र प्रहरी बलका एसएसपी विकास घिमिरेले उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानसमेत प्राप्त गरेका छन्।

२०७९ असोजमा जिल्ला प्रहरी कार्यालय इलामको नेतृत्व गरिरहेका बेला दिलिप प्रहरी दिवसका अवसरमा उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएका थिए। त्यसैगरी, सशस्त्र प्रहरी बलको वार्षिक निरीक्षणका क्रममा दक्षिणकाली गणमा कार्यरत विकास पनि उत्कृष्ट घोषित भएका थिए। फरक सुरक्षा संगठनमा कार्यरत दुई दाजुभाइले प्राप्त गरेको यो सम्मान परिवारका लागि विशेष उपलब्धि बनेको थियो।

दिलिपले प्रहरी निरीक्षकका रूपमा २०५८ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। त्यसपछि उनले इलाम र रौतहटलगायत जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। प्रहरी संगठनमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान प्रभावकारी बनाउने, प्रहरी परिचालन गर्ने र नागरिकलाई सेवा प्रदान गर्ने जिम्मेवारी उनले सम्हाल्दै आएका छन्।

माहिला भाइ पवनले भने २०५६ सालमा सेकेन्ड लेफ्टिनेन्टका रूपमा नेपाली सेनामा सेवा सुरु गरेका थिए। कान्छा भाइ विकासले २०५९ सालमा प्रहरी निरीक्षकका रूपमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका हुन्। हाल उनी विपद् व्यवस्थापनसम्बन्धी तालिम र जनशक्ति तयारीसँग सम्बन्धित जिम्मेवारीमा छन्।

हजुरबादेखि सुरु भएको सुरक्षा सेवाको विरासत

घिमिरे परिवारको सुरक्षा सेवासँगको सम्बन्ध अहिलेको पुस्ताबाट मात्र सुरु भएको होइन। परिवारका हजुरबा जितबहादुर घिमिरे प्रथम विश्वयुद्धका समयमा नेपाली सेनामा क्याप्टेन रहेको पारिवारिक विवरणमा उल्लेख छ।

हजुरबाको पुस्ताबाट सुरु भएको सैन्य सेवासँगको सम्बन्ध पछिल्ला पुस्तामा आइपुग्दा तीन फरक सुरक्षा निकायसम्म विस्तार भएको छ। यही पारिवारिक पृष्ठभूमिले आफूहरूलाई सुरक्षा सेवातर्फ आकर्षित गरेको विकास घिमिरे बताउँछन्।

‘पारिवारिक पृष्ठभूमिले हामीलाई सुरक्षा सेवामा पुर्‍याएको हो,’ विकास भन्छन्, ‘पहिला जेठो दाइ दिलिप प्रहरीमा भर्ना हुनुभयो, माइलो दाइ सेना सेकेन्ड लेफ्टिनेन्टमा र पछि म सशस्त्र प्रहरीमा इन्स्पेक्टरमा भर्ना भएँ।’

उनका अनुसार सुरक्षा निकायमा अधिकृतका रूपमा काम गर्नु व्यक्तिगत करिअर निर्माणमा मात्र सीमित हुँदैन। अनुशासन, जिम्मेवारीबोध, संगठनप्रतिको प्रतिबद्धता र मातहतका कर्मचारीको नेतृत्व पनि यसका महत्त्वपूर्ण पक्ष हुन्।

परिवारका सदस्य पनि सुरक्षा र सेवामै

घिमिरे परिवारको सुरक्षा सेवासँगको सम्बन्ध तीन दाजुभाइमा मात्र सीमित छैन। दिलिपकी पत्नी वसुन्धरा खड्का नेपाल प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) हुन्। उनी हाल जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखका रूपमा कार्यरत छिन्।

त्यस्तै, विकासकी पत्नी डा. समृद्धि बस्नेत सशस्त्र प्रहरी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छिन्। यसरी परिवारका सदस्यहरू प्रहरी नेतृत्व, सुरक्षा परिचालन र स्वास्थ्य सेवाका क्षेत्रमा समेत संलग्न छन्।

विकास र समृद्धिको भेट पनि सुरक्षा सेवाकै सिलसिलामा भएको थियो। सशस्त्र प्रहरी सेवामा प्रवेश गरेपछि उनीहरूबीच चिनजान बढेको र पछि विवाह भएको विकास सम्झन्छन्।

‘संयोग नै मान्नुपर्छ, परिवार सबै सुरक्षा निकायसँग जोडिएका बेला समृद्धिसँग मेरो मन जोडियो,’ उनी भन्छन्, ‘अग्रज दाइहरूले बुहारी पनि फौजमै रहेकाले सहजै स्वीकार्नुभयो।’

जिम्मेवारीले टाढा बनाएको पारिवारिक जीवन

देशको सुरक्षा सेवामा कार्यरत हुनु गौरवको विषय भए पनि यसको एउटा चुनौती परिवारसँग पर्याप्त समय बिताउन नपाउनु हो। फरक–फरक स्थानमा खटिनुपर्ने र जिम्मेवारीअनुसार बिदा मिलाउन कठिन हुने भएकाले घिमिरे परिवारका सदस्यहरूलाई नियमित भेटघाट गर्न सहज छैन।

विकास अहिले कुरिनटारमा कार्यरत छन् भने उनकी पत्नी समृद्धि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छिन्। कार्यक्षेत्र फरक हुँदा उनीहरूलाई लामो समयसम्म भेट्न नपाउने अवस्था आउने गरेको छ।

‘म अहिले कुरिनटारमा छु, उनी बलम्बुमा छिन्। जिम्मेवारी फरक भएकाले भनेको समयमा बिदा पाइँदैन। कहिलेकाहीँ त ६ महिनासम्म पनि मेरो र समृद्धिको भेट हुँदैन,’ विकास भन्छन्।

चाडपर्व तथा पारिवारिक जमघटका बेला पनि सबै सदस्य एकै ठाउँमा भेला हुन नसक्दा दूरीको अनुभूति अझ बढ्ने गरेको छ। देश र जनताको सुरक्षाका लागि जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिनुपर्ने अवस्था उनीहरूको जीवनको नियमित हिस्सा बनेको छ।

दिलिप घिमिरे पनि परिवारका सदस्यहरू देश र जनताको सेवामा समर्पित हुन पाएकोमा खुसी व्यक्त गर्छन्। तर फरक कार्यक्षेत्र र जिम्मेवारीका कारण परिवारसँग विरलै भेट हुँदा नरमाइलो लाग्ने उनको भनाइ छ।

उपलब्धिको खुसी साट्न आमाबुबा छैनन्

घिमिरे परिवारको सफलतासँगै जोडिएको अर्को भावुक पक्ष उनीहरूका आमाबुबाको अनुपस्थिति हो। तीनै दाजुभाइले सुरक्षा सेवामा जिम्मेवारी र सम्मान प्राप्त गर्दै जाँदा आफ्ना उपलब्धिको खुसी साट्न आमाबुबा साथमा नहुनु परिवारका लागि पीडादायी बनेको छ।

विकासका अनुसार आमाबुबाले दुःख गरेर हुर्काएका सन्तान अहिले देश र जनताको सुरक्षामा समर्पित छन्। तर उनीहरूका पछिल्ला उपलब्धि र सफलताको खुसी साट्ने बेला आमाबुबा साथमा छैनन्।

‘हामीलाई बाबुआमाले दुःखले हुर्काउनुभयो। अहिले परिवार नै देश र जनताको सुरक्षामा समर्पित छ। सुख पाउने र खुसी साट्ने बेला आज हामीसँग बाबुआमा हुनुहुन्न,’ विकास सम्झन्छन्, ‘परिवारको मियो नै नहुँदा कहिलेकाहीँ नरमाइलो लाग्छ, खासगरी चाडपर्वमा।’

घिमिरे परिवारको कथा तीन दाजुभाइ तीन सुरक्षा निकायमा उच्च जिम्मेवारीमा रहेको संयोगमा मात्र सीमित छैन। यसमा पुस्तौँदेखिको सुरक्षा सेवाको विरासत, पेसागत उपलब्धि, परिवारका सदस्यहरूको साझा समर्पण र कर्तव्यका कारण पारिवारिक जीवनमा आउने दूरीसमेत जोडिएको छ।

एउटै परिवारका सदस्य भए पनि उनीहरूको कार्यक्षेत्र र दायित्व फरक छन्। तर तीनै दाजुभाइको यात्राले देशको सुरक्षा सेवामा समर्पित जीवन, पारिवारिक पृष्ठभूमि र कर्तव्यप्रतिको प्रतिबद्धताको फरक आयाम उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्